बैतडीमा गोली हानेर बुवाले छोरीको हत्या गरेका छन्।
पुर्चौंडी नगरपालिका-१० का ६५ वर्षीय धनबहादुर महराले आफ्नी २० वर्षीया छोरी बेलमती महरा धामीलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीले घटनाबारे स्थानीयबाट खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताए। शनिबार बेलुकी ५ बजेतिर घटना भएको उनको भनाई छ।
स्थानीयलाई उद्धृत गर्दै उनले श्रीमान-श्रीमतीको झगडामा छोरीले छुट्याउन खोज्दा विवाद भएपछि बुवाले गोली हानेको भन्ने सुनिएको उनले बताए।
यद्यपि, प्रहरी घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उनले बताए।
बैतडीमा लुकाइछिपाइ स्थानीयले भरुवा बन्दुक राख्ने गरेको पाइएको छ। गोली प्रहार गर्ने बुबा भने अहिले फरार छन्।