मोरङ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले बिहीवार हड्तालको समयमा विराटनगर महानगरपालिका अगाडि रहेको एक चिया पसलमा तोडफोड गरेका छन्।
दाहाल-नेपाल समूहका नेता तथा पूर्वसांसद शिवकुमार मण्डल नेतृत्व र जिल्ला सचिव गणेश उप्रेतीसमेत रहेको टोलीले चिया पसल तोडफोड गरेको हो। विराटनगर महानगरपालिका २ महानगरको कार्यालय अगाडि रहेको प्रमोद चिया पसलमा तोडफोड भएको हो ।
पहिला चिया पसल खोल्न भनिएको तर पछि तिनै व्यक्तिले पसल खोलिएको पसलमा पछि फर्किएर तोडफोड गरिएको पीडितले बताएका छन् । पहिला पसल खोल्न भनेर गए पछि तिनै व्यक्तिले पसलका सिसा फोड्नुका साथै बनेका खाने परिकार सबै पोखिदिएको पीडितको भनाइ छ।
झण्डै २५ जनाको समूहले पसलमा एक्कासी तोडफोड गरेको पीडित कविता सहनीले बताउनुभयो । मध्याह्न अघिसम्म नरम देखिएका बन्दकर्ता त्यसयता बन्दलाई कडाइ गर्न सक्रिय भएर लागेका थिए । दाहाल–नेपाल समूहका कार्यकर्ताले विराटनगरमा बा १६ च ४४०४ नम्बरको कारमा समेत तोडफोड गरेका छन् ।
त्यस्तै शनि मन्दिरमा विराटनगर महानगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष विजय कामतले प्रहरीमाथि हातपात गरेका छन् । उच्छृङ्खल गतिविधि गर्ने केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड गरिएपछि प्रहरीले जिल्ला सदस्य पारुल क्षेत्री, मीरा दाहाल, महानगर सचिवालय सदस्य शारदा मैलानीसहित सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राईले बताउनुभयो ।
त्यस्तै बन्दकर्ताले एक भारतीय गाडीमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।