काठमाडौं - सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्ष पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ। ओली पक्षले शुक्रवार काठमाडौंमा प्रदर्शन र आमसभा गर्ने तयारी गरिरहेको छ।
त्यसको तयारीस्वरुप ओली पक्षले बुधवार मोटरसाइकल -याली आयोजना गरेको थियो। नेकपाकै प्रचण्ड–नेपाल पक्षले बिहीबारका लागि आमहड्ताल घोषणा गरेको गरेर देश ठप्प बनाएको छ। आमहड्ताल सफल पार्न आह्वान गर्दै प्रचण्ड-नेपाल पक्षले बुधवार साँझ मसाल जुलुस निकाल्यो ।
यसरी नेकपाका दुबै पक्ष आफूलाई बलियो देखाउन र एकले अर्कोलाई निचो देखाउन सडकमा उत्रिन थालेपछि मुठभेडको सम्भावना बढेको पाइएको छ। प्रतिनिधिसभा संसद विघटन र ओली सरकारविरुद्ध माघ १३ गते प्रचण्ड-नेपाल पक्षले राजधानीमा विशाल आमसभा गरेको थियो।
त्यसलाई काउन्टर दिन सत्तामा रहेको ओली पक्षले बागमती प्रदेश कमिटीको आयोजनामा शुक्रवारका लागि आमसभा तय गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षले देशभर सभा र विरोधका विभिन्न कार्यक्रम गर्न थालेपछि ओली पक्ष पनि उस्तै प्रकृतिका सभा र प्रदर्शनमा लागेको छ। २०७५ जेठ ९ गते २ पार्टी एकीकरण भएपछि सत्तारुढ बनेको नेकपा कानूनी रुपमा एक भए पनि राजनीतिक रुपमा विभाजित छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा २ पक्षमा विभाजित भएको छ । विभाजनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्ष सडकमा उत्रिएको छ ।
ओली पक्षले सभा आयोजना गरेको अघिल्लो दिन बिहीवारका लागि प्रचण्ड–नेपाल पक्षले आमहड्ताल आह्वान गर्नुले मुठभेडको सम्भावना बढेको आकलन गर्न थालिएको छ। नुवाकोटमा सोमवार ओली पक्षको कार्यक्रममा पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रचण्ड–नेपाल पक्षले कालो झण्डा देखाउँदा झण्डै मुठभेड भएको थियो ।
‘दुबै पक्षले आआफ्नो पक्षमा जनमत देखाउन आमसभा गर्दै आएकाले कसले कति मानिस सडकमा ल्याउने प्रतिस्पर्धा चलिरहेको छ । जसले गर्दा एकले अर्काको कार्यक्रममा अवरोध गर्ने अवस्था आउने सम्भावना देखिएको छ । यसले मुठभेड निम्त्याउन सक्छ,’ सुरक्षा निकायका एक अधिकारीले भने। ओली पक्षको आमसभामा देशभरबाटै नेता-कार्यकर्ता सहभागी हुने भएका छन्।
ओली पक्षले सबै सम्पर्क मञ्च, जनवर्गीय संगठनलाई आमसभामा सहभागी हुन निर्देशन दिएको छ। प्रचण्ड–नेपाल पक्षलाई काउन्टर दिने उद्देश्यले गर्न लागिएको आमसभालाई ओली पक्षले प्रतिष्ठाको विषय बनाएको छ ।
तर ओली पक्षका बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले भने काउन्टर आमसभा नभएको जिकिर गरेका छन् । पोखरेलले राजनीतिक सभाबाट आफ्ना धारणा सार्वजनिक गर्ने बताए । ‘हाम्रा राजनीतिक उद्देश्य र मूल्य मान्यताको विषयमा जनतामा जानकारी गराउने हेतुले सभा गर्न लागिएको हो । यो काउन्टर आमसभा होइन,’ आमसभा आयोजक समेत रहेका पोखरेलले भने । प्रचण्ड–नेपाल पक्षले ओलीकै कारण मुलुक राजनीतिक दुर्घटनामा पर्न लागेको दाबी गरेको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनीधिसभा विघटन गरेर मुलुकमा संवैधानिक संकट उत्पन्न भएको प्रचण्ड–नेपाल पक्षले जनाएको छ । ‘प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम र कामचलाउ सरकारको गैरसंवैधानिक, स्वेच्छाचारी एवं दमनकारी क्रियाकलापविरुद्ध पनि संघर्षलाई यस रुपमा अघि बढाउनुपर्ने बाध्यात्मक स्थिति उत्पन्न हुन गएको छ । यसैकारण आमहड्ताल गर्नुपर्ने आवश्यकता भएको हो,’ प्रचण्ड-नेपाल समूका प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रचण्ड-नेपाल पक्षले आमहड्ताल आह्वान गरेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बागमती प्रदेश आसपासका जिल्लाबाट काठमाडौं आउने सवारीसाधनलाई सुरक्षा दिन निर्देशन दिएका छन् । ‘बिहीवार काठमाडौ आउने सवारीसाधनलाई सुरक्षा दिन गृह मन्त्रालयले निर्देशन दिएको छ,’ नेपाल प्रहरी स्रोतले भन्यो । नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीवारका लागि आह्वान गरेको आमहड्ताल सफल पार्न काठमाडौं उपत्यकामा स्थायी कमिटीका सदस्यहरुलाई कमाण्डर तोकेको छ । उनीहरुले उपत्यकाका विभिन्न स्थानमा नेतृत्व गर्नेछन् ।
कलंकी चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल, सातदोबाटोमा देव गुरुङ, पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लिलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायण गोपालचोक महाराजगञ्जमा शक्ति बस्नेत, गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मालाई कमान्डर तोकिएको जनाइएको छ ।