• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


त्रि-धार्मिकस्थल हलेसीमा पद्मसम्भवको प्रतिमा राख्ने तयारी

त्रि-धार्मिकस्थल हलेसीमा पद्मसम्भवको प्रतिमा राख्ने तयारी

images

प्रभाव न्यूज

१९ माघ २०७७
  • 19.3K
    SHARES
  • images
    त्रि-धार्मिकस्थल हलेसीमा पद्मसम्भवको प्रतिमा राख्ने तयारी
    images
    images
    images

    खोटाङको त्रि-धार्मिकस्थल हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा राख्ने तयारी गरिएको छ। धार्मिक पर्यटन प्रवद्र्धनका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत्रमा नगरपालिका र नेपाल बौद्ध महासंघको सहकार्यमा आचार्य गुरु पद्मसम्भवको अग्लो प्रतिमा राख्ने तयारी गरिएको हो।

    images

    हलेसी तुवाचुङ नगरपालिकाले तयार पारेको हलेसी बृहत्तर गुरुयोजनामा परिकल्पना गरिएको पद्मसम्भव पार्कमा पद्मसम्भवको प्रतिमा राख्नका लागि आईतबार नगरपालिकाका मेयर इवन राई र नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाबिचमा १९ बुँदे सम्झौता भएको छ।

    ध्वजापताका क्षेत्र, स्वागत द्धार, ध्यान केन्द्र, शान्ति पदयात्रा, विश्राम गृह, बगैंचा, मञ्जुश्री क्षेत्रभन्दा माथि डाँडामा गुम्बा, सरोवर निर्माण, पद्मार्ग लगायतका संरचना निर्माण गरिने पद्मसम्भव पार्कमा बढिमा ५ वर्षभित्र पद्मसम्भवको मुर्ती राख्नेगरी सम्झौता गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताए।

    सम्झौता भएको ७ महिनाभित्र मञ्जुश्री क्षेत्रको १०३ रोपनी जग्गामध्ये ३ रोपनी ७ आना १ दाम जग्गामा दोश्रो पक्ष (नेपाल बौद्ध महासंघ)ले पद्मसम्भवको प्रतिमा स्थापनाको काम गर्ने सम्झौता भएको छ। हलेसी बृहत्तर गुरुयोजना अनुसार पद्मसम्भव पार्कमा करिब ५ करोडको खर्चमा पद्मसम्भवको प्रतिमा राख्ने काम पूरा गरिने नेपाल बौद्ध महासंघले जनाएको छ।

    images

    पद्मसम्भवको प्रतिमा स्थापनाका लागि नगरपालिकाले स्थान उपलव्ध गराउने र ६ महिनाभित्र प्रतिमा राख्ने स्थानसम्म सडक र विद्युत व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ। यस्तै, हलेसी बृहत्तर गुरुयोजनाले तयार पारेको अवधारणा अनुसार सम्झौता भएको ३ महिनाभित्र पद्मसम्भव पार्कको डिपिआर तयार पारी दोश्रो पक्षलाई उपलव्ध गराउने, दोश्रो पक्षले डिपिआर अनुसार पद्मसम्भवको प्रतिमाको नक्सा तयार गरी स्थापना गर्नुपर्ने सम्झौता भएको छ। गुरुयोजनाले पारित गरेको मापदण्ड र नगरपालिकाको भवन निर्माण मापदण्ड बमोजिम मञ्जुश्री गुफा र वातावरणलाई कुनै असर नपर्नेगरी पद्मसम्भवको प्रतिमा राखिने नगरपालिकाले जनाएको छ।

    images

    पद्मसम्भवको साना तथा ठूलो मुर्ती राखिने पार्क क्षेत्रमा शान्ति पूजा हल, चैत्य निर्माण, वौद्ध धर्म संग्रहालय तथा पुस्तकालय, माने निर्माण, प्रतिमा निर्माण, वौद्ध स्ववारिक्पा शिक्षण केन्द्र, अनुसन्धान केन्द्र, गार्डेन, ढल, पानी, विजुली व्यवस्थापन, तारबार तथा पर्खाल, अपांगमैत्री शान्ति मार्ग लगायतका संरचना निर्माण गरिने मेयर राईले जानकारी दिए ‘नगरपालिकाको प्रमुख उपलव्धीमध्ये हलेसी बृहत्तर गुरुयोजना निर्माण एक हो ।

    यही गुरुयोजनाका आधारमा पद्मसम्भवको प्रतिमा राख्ने तयारी थालेका हौँ,’ मेयर राईले भने, ‘यसबाट हलेसीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने छ । नगरपालिकाको वृहत्तर विकासमा योगदान पुग्ने अपेक्षा गरेका छौँ ।’ हलेसीमा पद्मसम्भवको प्रतिमा स्थापना पश्चात वौद्ध धर्म परम्परा अनुसार साँस्कृतिक, अध्यात्मिक महत्वलाई जीवित राख्नका लागि त्यसको रेखदेख, सञ्चालन, संरक्षण, मर्मत सम्भार र पाठपूजाको व्यवस्था बौद्ध महासंघले गर्ने सम्झौता छ।

    पार्कमा प्रवेश गर्ने आगन्तुकबाट शुल्क उठाएर आम्दानी बाँध्ने र पार्क क्षेत्रमा घेरावारा, पदमार्ग र मूल प्रवेशद्धार निर्माणको काम प्रथम पक्षले गर्ने छ। हलेसीमा निर्माण गरिने पद्मसम्भव पार्कले विश्वभरका बौद्धमार्गीलाई आकर्षण गराउने वातावरण बन्ने नेपाल बौद्ध महासंघका अध्यक्ष शेर्पाले बताए।

    ‘वौद्ध साहित्यमा आचार्य गुरु पद्मसम्भवले हलेसीमा अमरत्व प्राप्त गरेको उल्लेख छ। उहाँको प्रतिमा स्थापनापछि दशौं लाख पर्यटकलाई हलेसीमा भित्र्याउन सक्छौँ,’ अध्यक्ष शेर्पाले भने, ‘हामीसँगै हिरा र सुन छ तर हामीले बेच्न सकेका छैनौं।’

    बौद्ध धर्मावलम्बीले पद्मसम्भवलाई दोश्रो बुद्धकारुपमा पुज्ने गरेका छन्। गुरुयोजना अनुसार काम गर्नका लागि १०३ रोपनी सरकारी जग्गा रहेको मञ्जुश्री क्षेत्रमा ४५ रोपनी व्यक्तीगत जग्गा अधिग्रहण वा किन्नुपर्ने देखिएको छ।

    images
    images

    प्रकाशित :माघ १९, २०७७ सोमवार - ०७:००:०४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij