असोज १२, खोटाङ - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्वाचित कांग्रेस सभापति अमृत गिरी जिल्लाकै कान्छो सभापति बनेका छन्।
सोमबार सम्पन्न गाउँपालिका अधिबेसनबाट ३२ वर्षीय गिरी कांग्रेसको गाउँपालिका सभापतिमा चयन भएका हुन। गाउँपालिका सभापतिका प्रत्यासी डम्बर खड्काले उम्मेद्वारी फिर्ता लिएपछि गिरी पालिका सभापतिमा निर्विरोध चयन भएका हुन्।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीमा २०४६ साल बैसाख २४ गते जन्मिएका गिरीले आफ्नो कार्यकालमा गाउँपालिकामा पार्टीलाई पहिलो बनाउने प्रतिक्रिया दिएका छन।
उनी २०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएका थिए। संस्थागत रुपमा संगठन विस्तार, पार्टीभित्र एकता, पार्टी संगठनको नेतृत्व विकासमा जोड लिने गिरीले बताए।
‘संस्थागत रुपमा संगठन विस्तार गरिन्छ, पार्टीलाई एक ढिक्का बनाएर राखिन्छ,’ गिरीले भने, ‘पार्टी संगठनभित्र नेतृत्व विकास र प्रशिक्षणलाई जोड दिइन्छ। आम निर्वाचनमा पार्टीलाई विजय गराउनेगरी काम गरिन्छ।’
सरस्वती माबि डाँडाखर्क सछितापोखरीमा कक्षा १० मा अध्ययन गरिरहेकाबेला अनेरास्ववियुको इकाई कमिटि अध्यक्षबाट राजनीतिमा प्रवेश गरेका गिरी २०६४ सालदेखि कांग्रेसको राजनीति सुरु गरेका हुन।
उनले २०६५ सालमा नेविसंघकातर्फबाट सिमपानी क्याम्पसको स्ववियु कोषाध्यक्ष, २०६८ सालमा नेविसंघको सिमपानी क्याम्पस इकाई समिति सभापति लगायतका भूमीका निर्वाह गरिसकेका छन।