खोटाङको जन्तेढुंगा गाउँपालिका-१ देबिस्थान पाँडेगाउँका अर्जुन तामाङको मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोग जुटाइएको छ।
दुबै मिर्गौला फेल भएपछि तीन वर्ष अघिदेखि नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालमा उपचार गराइरहेका तामाङको मिर्गौला प्रत्यारोपणका लागि कांग्रेस जन्तेढुंगा गाउँपालिका उपसभापति बाजिन्द्र बिष्टको पहलमा १७ हजार ५ सय सहयोग जुटाइएको हो।
मिर्गौला प्रत्यारोपणका लागि तामाङ परिवारले सहयोगको याचना गरेपछि स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट प्राप्त भएको रकम शनिबार जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका समाजसेवी एवं कांग्रेस क्षेत्रीय प्रतिनिधि लक्ष्मी तामाङले अर्जुनका सासुआमालाई हस्तान्तरण गरेकी छन्।
अर्जुनको मिर्गौला प्रत्यारोपणका लागि जापानमा रहेका भुवन खड्काबाट ५ हजार, यूएईमा रहेका जनक थापाबाट ३ हजार, कुमार थापाबाट २ हजार, निरोज लामीछानेबाट २ हजार, लक्ष्मी तामाङबाट १ हजार, बाजिन्द्र बिष्टबाट १ हजार, गंगा तामाङबाट १ हजार, तारानाथ भट्टराईबाट १ हजार, सुजन खड्काबाट १ हजार र डाईश्वर कार्कीबाट ५ सय सहयोग जुटाइएको हो।
अर्जुनको मर्गौला प्रत्यारोपणका क्रममा कम्तीमा ६ लाख खर्च जुटाउन भनिएपछि सहयोग अभियान चलाइएको कांग्रेसका युवा नेता बिष्टले बताए। हाल बेलका नगरपालिका–१ उदयपुर बस्दैआएका ३३ वर्षीय तामाङको केही समयपछि मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ। उपचार खर्च निकाल्ने आर्थिक अवास्था नभएपछि अर्जुनकी श्रीमती अञ्जना तामाङले श्रीमानको मिर्गौला प्रत्यारेपण गर्दै जीवन बचाउका लागि शुभेच्छुक तथा सहयोगी समक्ष सहयोग गर्न आग्रह गर्दैआएकी छन्।
आफ्नै आमाले मिर्गौला दिने भए पनि प्रत्यारोपणका लागि खर्च अभाव भएको तामाङ परिवारले बताएका छन् ।
मिर्गौला रोगी अर्जुनलाई सहयोग गर्नका लागि उनकै नाममा कुमारी बैंकमा खोलिएको खाता नम्बर एम १३५०११६७४०१००००१ मा रकम जग्गा गर्ने व्यवस्था मिलाइएको छ । तामाङलाई सहयोग गर्नका लागि मोबाईल नम्बर ९८४९७८९२२५ मा फोन गर्न सकिने जनाइएको छ।