भदौ ४, खोटाङ - स्थानीयले ७ नाल सावुद र १० नाल बेसाबुद भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाएका छन्।
ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीका स्थानीयले १० नाल भरुवा बन्दुक कार्यालयलाई बुझाएका हुन्।
वन्यजन्तु चोरी शिकारी एवं अपराधिक क्रियाकलाप नियन्त्रणका लागि हातहतियार संकलन अभियान थालिएकोमा जलेश्वरीका स्थानीयले स्वःतस्फुर्त भरुवा बन्दुक बुझाएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले पत्रकार सम्मेलन गरि जानकारी गराए।
अवैध हातहरियार संकलन अभियान थालेको जिल्ला प्रशासन कार्यालयलाई स्थानीयले बन्दुक बुझाएका हुन् । स्थानीयले बुझाएको बन्दुक शुक्रबार प्रशासनले सार्वजनिक गरेको छ।
स्थानीयले बुझाएको भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालयलाई बुझाइने प्रशासनले जनाएको छ। स्थानीयले बिहिबार प्रशासनलाई गाउँमै बोलाएर भरुवा बन्दुक बुझाएका थिए।
भरुवा बन्दुक बुझ्नका लागि प्रजिअ शर्मा र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक उमेश लम्साल जलेश्वरी पुगेका थिए। अवैध हातहतियार संकलन अभियान जारी राखिने शर्माले बताए।