साउन २६, खोटाङ - डाइजेष्टिभ विस्कुटमा बोरा सिलाउने प्लास्टिकको धागो फेला परेको समाचार मंगलबार विहान प्रभाव न्यूज नेटवर्कद्धारा संचालित प्रभाव न्यूज डटकमले प्रकाशन गरेपछि अहिले सबैको चासोको विषय बनेको छ।
‘डाइजेष्टिभ विस्कुटमा अखाध्य बस्तु फेला, उत्पादक कम्पनीको व्यापक लापरवाही’ शिर्षकमा प्रभाव न्यूज डटकमले समाचार प्रकाशन गरेलगत्तै राष्ट्रिय मानव अधिकार आयोगले विस्कुट उत्पादक कम्पनीलाई ध्यानाकर्षण गराएको छ।
खोटाङको सदरमुकाम दिक्तेल बजारका एक स्थानीयले बच्चालाई विस्कुट खुवाउनेक्रममा विस्कुटको पानोभित्र पलास्टिकको जेलिएको अवस्थामा धागो फेला पारेका थिए। क्वालिटी फुड एण्ड स्न्याक्स इन्डस्ट्रिज प्रालि दुहवी सुनसरी नेपालद्धारा उत्पादित क्वालिटी डाइजेष्टिभ नामक विस्कुटको पानोमा धागो भेटिएको थियो।
राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय खोटाङले क्वालिटी फुड एण्ड स्न्याक्स इन्डस्ट्रिज प्रालिलाई ध्यानाकर्षण पत्र पठाएको छ।
आयोगले पत्रमा विस्कुटमा अखाध्य मिसावट किन गरिएको? मिसावटबाट उपभोक्ताहरुको स्वास्थ्यमा असर पर्छ पर्दैन? असर पर्न गएको अवस्थामा त्यसको जिम्मेवारी त्यहाँ कम्पनीले जिम्मा लिनु पर्ने हो होइन? पटक पटक अखाध्य वस्तु मिसावट भएको भनि समाचार प्रकाशित भइरहेको सन्दर्भमा त्यस्ता सामग्रीहरु तत्काल बजारबाट फिर्ता लिइ नष्ट गर्नेतर्फ त्यहाँ कम्पनीको के कस्तो कार्यक्रम छ? भनि ध्यानाकर्षण गरेको छ।
आयोगले त्यस्ता अआध्य वस्तु विक्री वितरण गर्ने कार्य तत्काल रोकी नेपालको संविधानको धारा ४४ र उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ ले प्रदान गरेका उपभोक्ताको मानव अधिकार संरक्षण गर्नु पर्ने हो होइन? सो समेतको विवरण शीघ्ररुपमा उपलव्ध गराउन प्रालिलाई आयोगले भनेको छ।
आयोगले जिल्ला प्रशासन कार्यालयलाई पनि पत्र पठाएको छ। प्रभाव न्यूज डटकममा अखाध्य वस्तु फेला परेको प्रकाशित समाचारप्रति आयोगको कार्यालयको ध्यानकर्षण भएको हुँदा पत्रचार गरिएको भनिएको छ।
नेपालको संविधानको धारा ४४ ले मौलिक हक र उपभोक्ताको संरक्षण ऐन २०७५ को दफा ३ ले कानुनी अधिकार प्रदान गरेकोमा तत्काल बजार अनुगमन गरि त्यस्ता वस्तुहरुको विक्री वितरण स्थगित नभएमा त्यसबाट उपभोक्ताको अधिकार संरक्षण र संवर्धनमा गम्भीर प्रभाव पर्न सक्ने देखिएिको र सो सम्बन्धी कार्यको निरीक्षण गर्ने जिम्मा प्रशासन कार्यालयको रहेको हुँदा शीघ्र निरीक्षण तथा कारवाही प्रकृृया अगाडी बढाउन पत्रमा भनिएको छ।
विस्कुट कम्पनीले आफ्नो उपभोक्ताहरुको सुरक्षा र स्वास्थ्यको लागी स्वच्छता, सुरक्षा र गुणस्तरीय मापदण्डको उच्चस्तरको विस्कुट भनेर प्रचार गरेपनि असार २०२१ मा उत्पादित उक्त विस्कुटमा धागो फेला परेको हो।
फाइवर, प्रोटिन र भिटामिन वी पाइन्छ भनेर लेखेको उक्त विस्कुटको मुल्य १५ तोकिएको छ। एपि नम्बर ०२ ०६ ६८ ०७ २४२ रहेको विस्कुटको पानोमा जेलिएको अवस्थामा प्लास्टिकको धागो भेटिएको थियो।
आयोगको ध्यानाकर्षण पत्र हेर्नुहोस ।


यो पनि