• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


विकासमा बखेडा

माओवादी केन्द्रले बन्न दिएन खोटाङको हलेसी तुवाचुङमा निर्माणाधिन खैलमैदान

माओवादी केन्द्रले बन्न दिएन खोटाङको हलेसी तुवाचुङमा निर्माणाधिन खैलमैदान

images

प्रभाव न्यूज

२५ श्रावण २०७८
  • 32.0K
    SHARES
  • images
    माओवादी केन्द्रले बन्न दिएन खोटाङको हलेसी तुवाचुङमा निर्माणाधिन खैलमैदान
    images
    images
    images

    उत्तम चौलागाँई, खोटाङ - विकास गर्दा स्वभाविक विनास हुन्छ। जिल्लाका अनेकन विकास निर्माणका काममा विनास भएकै छन्। विनासपछि अवश्य विकास हुन्छ, त्यहि विकासले समृद्धता र सुन्दरता निर्माण गर्छ। तर, हामी कसैको स्वार्थ, कसैको उद्धेश्य कसैको स्वभाव र कसैको उद्धण्डता, कसैको रिसराग इगो र चलखेलको जालोमा रहन्छौं र साना तिना कुरा झिकेर विकास निर्माणलाई अवरोध गर्छौ। यी कुरामा फसेर भावि सन्ततिको समेत भविष्य डामाडोल पार्न वल गर्छौ। तर, हाम्रो ठाउँको विकास हाम्रै लागि भन्न किन सक्दैनौं?

    images

    यहि प्रसंगसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित कोटगैरा (घुमाउनेचौंर) मा खेलमैदान निर्माणका क्रममा विवाद भएको छ। आर्थिक वर्ष २०७७-०७८ को अन्तिममा युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको ३० लाखमा सुरु गरिएको हलेसी तुवाचुङ फुटबल ग्राउण्ड निर्माणका क्रममा विवाद चुलिएको हो। 

    ‘एक स्थानीय तह एक खेलमैदान निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम सुरुवाती चरणबाटै विवादमा फसेको हो। 

    मालपोत कार्यालयमा जग्गा धनीको हक हिस्सा ‘सरकारी’ र जग्गाको किसिम ‘वनमारा’ उल्लेख भएको भन्दै नगरपालिकाले घुमाउनेचौरको कित्ता नम्बर १७ को ५४ रोपनी १४ आना ११ दाम जग्गामा नगरपालिकाले खेलमैदान निर्माण सुरु गरेको थियो। 

    images

    फुटबल, भलिबल, एथ्लेटिक्स, मार्सल आर्ट, व्याडमिन्टन लगायतका खेलकुद सञ्चालन गर्न मिल्ने गरी खेलमैदान निर्माण सुरु गरिएको थियो। 
    तर, ऐतिहासिक होलेसुङगढीलाई असर पुग्ने र चण्डीडाँडा सामुदायिक वनमा क्षती पुग्ने भन्दै उजुरी परेपछि खेलमैदान निर्माणको काम बिचैमा रोकिएको छ। 

    images

    नगर कार्यपालिकाको बैसाख १९ गतेको बैठकले सो स्थानमा खेलमैदान निर्माण गर्ने निर्णय गरेको थियो। 

    सरकारी जग्गामा निर्माण गरिने खेमैदानका कारण जंगल विनास हुने भन्दै दुर्छिमका पुर्वगाबिस अध्यक्ष कुवेरमणी राईले अन्यत्र स्थानमा खेलमैदान निर्माण गर्न भन्दै जेठ ३० गते सव–डिभिजन वन कार्यालय महादेवस्थानमा उजुरी दिए। 

    सव–डिभिजन वन कार्यालयले पनि जेठ ३१ गते सरकारी वन क्षेत्रमा खेलमैदान खन्न नदिन नगरपालिकालाई पत्राचार गरेको थियो। तर सो पत्रलाई बेवास्ता गर्दै बिक्रम राई अध्यक्ष रहेको उपभोक्ता समितिले असार १३ गते घुमाउनेचौंरमा खेलमैदान निर्माण सुरु गरेको थियो। 

    डिभिजन वन कार्यालयको असार १३ गतेको अर्को पत्रअनुसार त्यसै दिन नगरपालिकाले खेलमैदानको काम रोक्न उपभोक्ता समितिलाई काम रोक्का गर्न पत्र पठाएको थियो। 

    जंगल मासेर खेलमैदान बनाउन लागेको भन्दै दुर्छिमकै इच्छाराम राईले दिएको उजुरीको सम्वन्धमा आवश्यक छानविन गरी प्रचलित कानून बमोजिम गर्नु/गराउनु भन्दै वन तथा भू–संरक्षण विभागको असार ७ गतेको पत्र अनुसार डिभिजन वन कार्यालयले असार १३ गतेकै दिन सव–डिभिजन वन कार्यालय महादेवस्थानलाई पनि पत्र पठाएको थियो। 

    खेलमैदान निर्माणको काम रोक्नका लागि सव–डिभिजन, डिभिजन वन कार्यालयदेखि वन तथा भू–संरक्षण विभागमा मात्र नभएर अख्तियारसम्म उजुरी पुग्यो। 

    दुर्छिमकै इच्छाराम राईले असार १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मेयर इवन राई, दुर्छिमका वडाध्यक्ष रमेश तिवारी र उपभोक्ता समितिका अध्यक्ष राईलाई विपक्षी बनाएर उजुरी दिए। 

    अख्तियारमा आफैले उजुरी हाल्न लगाएको कुबेरमणि बताउँछन्। अख्तियारमै उजुरी परेपछि बन्द भएको खेलमैदान निर्माणको काम पुःन असार २२ गते कोटगैराका स्थानीयको अगुवाईमा सुचारु गरियो। विवादकाविच सुचारु गरिएको काम रोक्नका लागि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा सुरक्षा बल सहित दुर्छिम पुग्नुपरेको थियो। 

    तर, स्थानीय रोकिएका छैनन्। उनीहरुले पुःन साउन ११ र १२ गते खेलमैदान खनेका छन्। खेलमैदान निर्माणका क्रममा हालसम्म २५–३० बोट स-साना चिलाउनेको रुख ढलेको निर्माण उपभोक्ता समितिका सचिव फलामसिं राईले स्वीकार गरे। 

    १ करोड ७९ लाख ५८ हजारको लागत स्टीमेट निर्माण हुने खेलमैदानका लागि नगरपालिकाको ३० प्रतिशत रकम लागत साझेदारी हुनेछ। 
    उपभोक्ता समितिले १० लाख पेश्की लिएर खेलमैदान निर्माणको काम सुरु गरेको थियो। घुमाउनेचौंरको सो जग्गा सरकारी भएको आधारमा डिपिआर तयार पारेर खेलमैदान निर्माणको काम सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन रार्ईले बताए। 

    सो जग्गालाई सरकारी जग्गा भनिए पनि ११ मोहीले हालसम्म दावी प्रस्तुत गरेको देखिन्छ। खेलमैदान निर्माणका लागि डिपिआर तयार पारिरहेकै बेला चमाखुका मोहीले बैसाख १६ गते नगरपालिकालाई डिपिआर तयार नगर्न निवेदन दिएका थिए। 

    नगरपालिकाकातर्फबाट २०७७ साल कात्तिक २ गते युवा तथा खेलकुद मन्त्रालयमा सहकार्य गर्ने गरी बजेट माग गरिएको थियो। 
    चार सय वर्षअघि होलेसुङका सन्तानले शासन गर्दा तालिम केन्द्रकारुपमा प्रयोग गरेका कारण घुमाउरोचौंरलाई वन कार्यालयले संरक्षण गर्नुपर्ने कुबेरले बताए। ‘यो ऐतिहासिक स्थल हो। यसको वनले संरक्षण गर्नुपर्छ भन्ने माग हो,’ कुबेरले भने, ‘त्यो ऐतिहासिक तालिम केन्द्र हो। बाँचुञ्जेल ग्राउण्ड खन्न दिइन्न ।’ 

    खेलमैदान निर्माण योजना विवादित बनेपछि र अख्तियारमा उजुरी परेपछि युवा तथा खेलकुद मन्त्रालयको बजेट फ्रिज भएको छ। 

    पेश्की स्वरुप लिइएको १० लाख पनि कामको मूल्यांकन गरेर बाँकी रहने रकम फिर्ता गर्ने उपभोक्ता समितिका सचिव राईले बताए। 

    खेलमैदान निर्माणको कामलाई सफल पार्नका लागि कोटगैराका स्थानीयले ६ लाख रकम संकलन गरिसकेको बताएका छन्। 

    उपभोक्ता समितिका सचिव राईले जुनसुकै हालतमा खेलमैदान निर्माणको काम सम्पन्न गर्ने दावी गरे। ‘खेलमैदान खन्न नदिने र जुनसुकै हालतमा खन्ने’ कित्ताकाटले विवाद अरु बढ्ने देखिएको छ। सो जग्गाको सिमाना २०७७ साल असोज २६ गते कायम गरिएको थियो। जग्गा यकिन गर्नका लागि नगरपालिकाले गत जेठ ३१ गते मालपोतमा पत्राचार गरेको थियो। सो पत्रका आधारमा मालपोतले असार १ गते जग्गा धनीको हक हिस्सा ‘सरकारी’ र जग्गाको किसिम ‘वनमारा’ उल्लेख गरेर जानकारी पठाएको थियो। 

    दुर्छिमको कोटगैरा सिरानमा पर्ने घुमाउनेचौंर नजिकै ऐतिहासिक होलेसुङगढी पर्छ जहाँबाट होलेसुङ (चाम्लिङ राजा)ले शासन गरेका थिए। हाल नजिकै रकगार्डेन बनाइएको छ। होलेसुङ रिसोर्ट बनेको छ। सोही डाँडामा रेडियो खोटाङको कार्यालय सञ्चालनमा छ। थोरै मुनि नगरपालिकाको कार्यालय राखिएको छ। घुमाउनेचौंर आसपासमा क्रमशः भौतिक संरचना बन्न थालेको छ। पछिल्लो समय घुमाउनेचौंर सम्भावनायुक्त स्थानका रुपमा विकास हुँदैछ। 

    अख्तियारमा उजुरी दिने इच्छाराम राई र खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष बिक्रम राईबिचको व्यक्तिगत टकरावको असर समेत खेलमैदान निर्माणमा परेको पाइएको छ।

    कुनैबेला इच्छाराम र बिक्रम क्रमशः एउटै विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्ष थिए। खेलमैदानमा विवाद उत्पन्न गरेर मेयरमाथि आक्रमण गर्ने ‘इन्टेरेष्ट’ले पनि यसमा वल पु-याएको छ।

    मेयर राई भने घुमाउनेचौंरको जग्गा व्यक्तिको नाममा ल्याउने प्रपञ्चकै कारण खेलमैदान निर्माणमा अवरोध गरिएको दावी गर्छन्। ‘सुरुमा गढी मासियो भनियो, त्यसपछि वन मासियो भनियो र अन्तमा व्यक्तिको जग्गामा खेलमैदान निर्माण गर्न लागियो भन्दै इस्यू ट्वीस्ट गरिएको छ,’ मेयर राईले भने, ‘नत्र ऐतिहासिक क्षेत्रमा खेलमैदान बनाउन हुन्न भन्नेले ऐतिहासिक क्षेत्रको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कोसिस पनि गर्नुहुँदैन भन्न सक्नु पर्छ।’

    दुर्छिमका चार-पाँच जनाको स्वार्थगत लडाईले खेलमैदान निर्माणका नाममा विवाद सिर्जना भएको स्थानीय एक युवा नेता बताउँछन्। 

    चुमाखुका मोही र कोटगैराका स्थानीयविचमा द्धन्द्ध सिर्जना गर्ने किसिमले उत्पन्न विवाद हल गर्नमा भने हालसम्म कसैको अग्रसरता देखिएको छैन। 
    घुमाउनेचौंरमा खेलमैदान निर्माणका क्रममा अवरोध भएपछि कोटगैराका स्थानीयले असार १५ गते नगरपालिकामा निवेदन दिँदै होलेसुङगढी रहेको चण्डीडाँडा सामुदायिक वन क्षेत्रमा पनि भौतिक संरचना निर्माण रोक्न माग गरे। 

    सामुदायिक वन क्षेत्रभित्र खेलमैदान निर्माण गर्न नदिने भए सामुदायिक वन क्षेत्रभित्रै पर्ने होलेसुङगढी आसपासमा पनि भौतिक संरचना निर्माण गर्न नदिने उनीहरुको अड्को छ। चण्डीडाँडा सामुदायिक वनमा होलेसुङ पार्क, प्रवेशद्धार लगायतका संरचना निर्माण भइसकेको छ। वनजंगललाई नछुने हो भने कुनै पनि विकास निर्माणको काम सम्भव नहुने स्थानीय सुवास राईले बताए। 

    ‘सडक बनाउँदा वन मासिएको छ। विद्युत विस्तार गर्दा वन मासिएको छ,’ राईले भने, ‘वनलाई जोगाउनु पर्छ तर वनलाई नछोइकन विकास सम्भव छैन।’ एकअर्कामा यही अड्को थाप्दै जाने हो भने चण्डीडाँडा सामुदायिक वन क्षेत्रमा पर्ने होलेसुङगढीमा अन्य संरचना बनाउन झन् कठिन हुने देखिन्छ। 

    जवकी होलेसुङगढी संरक्षणका लागि चालु आर्थिक वर्ष पुरातत्व बिभागबाट २५ लाख र प्रदेश सरकारबाट ५० लाख (नगरको लागत साझेदारी सहित ७० लाख) लगायतका बजेट विनियोजन भएको छ। 

    khel maidan2.png

    दोषको भागीदार को ? 
    खेलमैदान निर्माणको काम अलपत्र परेको दोषको हिलो भने एकले अर्कालाई छ्याप्न थालिएको छ। मेयर राई माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको अवरोधका कारण खेलमैदान निर्माणको काम अघि बढ्न नसकेको आरोप लगाउँछन्। 

    वनमा उजुरी दिने र अख्तियारमा उजुरी दिन लगाउने कुबेरमणी नेकपा माओवादी केन्द्र सम्वद्ध भएकाले पार्टी मुछिएको मेयर राईको तर्क छ। 
    ‘देशमा कांग्रेस, माओवादी केन्द्र लगायतको सरकार छ। यहाँ भने माओवादीका साथीहरुले दुःख दिने काम गरेको छ,’ कांग्रेसबाट निर्वाचित मेयर राईले भने, ‘उजुरी दिनेदेखि सिडिओे, डिएफओलाई काम रोक्नका लागि प्रेसर गर्न जाने उहाँहरु नै हो।’ 

    कुवेरमणी भने मेयरको दावीसँग सहमत छैनन्। ‘म एउटा राजनैतिक कार्यकर्ता हो। तर खेलमैदानको विषयमा राजनीति गरिएको छैन,’ कुबेरले भने, ‘ऐतिहासिक स्थललाई जोगाउन पर्छ भन्ने कुरा हो। जग्गा त्यहाँ मात्र छैन। अन्यत्र पनि ग्राउण्ड बनाउन सकिन्छ।’  

    कुबेरले जे भनेपनि उनीबाहेक सो ठाउँका ३८ घर स्थानीय खेलमैदान बनाउने पक्षमा देखिएका छन्। उनीहरुले स्थलगत रिपोर्टिङमा पुगेका पत्रकारसँग को- कुन पार्टीमा संलग्न छ त्यो कुरामा नलाग्ने तर खेलमैदान बनाएरै छोडने बताएका छन्। 

    अहिले माओवादी केन्द्रको भित्री चलखेलका कारण बन्दै गरेको खेलमैदान अवरुद्ध बनेको उनीहरुको भनाई छ।

    त्यसोत, खेलमैदान निर्माण सुरु भएपछि होलेसुङ समुह नामक संस्थाले पनि खेल मैदान बनाउँदा ऐतिहासिक हलेसीगढी ध्वस्त हुने भन्दै विवाद झिकेको थियो। होलेसुङ समुह नामक संस्था आधिकारीक नभएको पुष्टि पनि भएको छ।

    होलेसुङ समुहमा संयोजककै रुपमा काम गर्दै आएका भुपेन्द्र कुमार राईलगायतले उक्त समुहमा नरहने भन्दै सामाजिक संजालमार्फत धारण राखिसकेका छन्। समुहको संयोजकले नै आफू समुहको संयोजकमा नरहने र  समुह आधिकारीक नभएपछि उनकै नेतृत्वमा कार्यदल समेत गठन भएको छ।

    khel maidan 3.png

    सिडिओ र डिएफ्ओ वेखवर
    खेलमैदान बनाउन सुरु गरिसकिएको अवस्थामा उजुरी पर्नासाथ जिल्लाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र डिभिजन वन कार्यालयका प्रमुख धनन्जय लामिछाने वेखवर जस्तो बनेका छन्। 

    प्रमुख जिल्ला अधिकारी शर्मालाई माओवादी केन्द्रका नेताले कार्यालयमै भेटेर खैल मैदानमा सुरक्षा पठाएर काम रोकिदिन माग गरेको स्रोतको दावि छ। उनीहरुले कुनै हालतमा काम अगाडी बढाउन नदिनु भन्दै अनुरोध गरेको स्रोत बताउँछ।

    प्रमुख जिल्ला अधिकारी शर्मा र डिभिजन वन कार्यालयका प्रमुख लामिछाने विवाद हल गरेर काम अगाडी बढाउने मनसायमा देखिएपनि विवाद तत्काल हल गर्नमा वेखवर रहेका छन्।

    उनीहरु दुवैले मन्त्रालयबाट पत्र आएकोले केही असहज भएको बताएका छन्।

    शर्मा र लामिछाने केही समयदेखी काठमाडौं रहेका छन्।

     

     

     

     

    images
    images

    प्रकाशित :श्रावण २५, २०७८ सोमवार - २३:१७:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij