साउन २३, खोटाङ - खोटाङको ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर–२ बाकाचोलमा जंगली जनावर थार मारिएको छ।
गत जेठ ३० गते थार गाइगोरुसँगै जंगलबाट घरमा आएपछि स्थानीय नन्द कुमार तामाङले पक्रिएर घरमा पालेको थार २२ गते राति अज्ञात समुहले मारेको जनाइएको छ।
जंगलमा चर्न गएका गाइगोरुसँग तामाङको घरमा आएको थार भर्खरै जन्मिएको र नाभीसमेत नखसेको अवस्थामा आएको बताइएको छ। तामाङले उक्त थारलाई नियन्त्रणमा लिइ पालीराखेको अवस्थामा अज्ञात समुहले खुकुरी प्रहार गरि मारेको भन्ने खवर आएको सव डिभिजन कार्यालय ऐंसेलुखर्कका बन फरेष्टर पुष्प कुमार राईले जानकारी दिए।
तामाङले थार पक्राउ गरि पाली राखेको भन्ने सूचनाका आधारमा गस्ती पठाएको तर, थार मारिसकेको अवस्थामा भेटिएको उनको भनाइ छ। थार पक्रिएर पाल्ने तामाङलाई पक्राउ गरि दिक्तेल ल्याइएको छ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ।
कुनै पनि जंगली जनावर पक्राउ गरि पाल्न पाइदैन। पक्राउ गरिएपनि तत्कालै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्छ र उनीहरुको रोहवरमा छोडिदिनु पर्छ, त्यसमा पनि लोपन्मुख जनवार थार पालेको र मारेको भन्ने कुरा आएको छ।
यस विषयमा अनुसन्धान गरि हदैसम्मको कारवाही गर्ने डिभिजन बन कार्यालयका प्रमुख धनन्जय लामिछानेले जानकारी दिए।
थार उच्च पहाडी भेगमा पाइने एक स्तन्धारी तथा साकाहारी जंगली जनावर हो। थार भैँसी जस्तो हुन्छ।


