जेठ २५ खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालयले आफ्नै पहलमा एन्टीजेन किट जुटाएर कोभिड–१९ को परीक्षण गरेको छ ।
समुदायस्तरमा फैलिसकेको कोभिड–१९ को संक्रमण भए÷नभएको पहिचान गर्दै संक्रमण थप फैलिन नदिनका लागि वडा कार्यालयले आफ्नै पहलमा किट जुटाएर एन्टीजेन परिक्षण सुरु गरेको हो । विभिन्न संघसंस्था, स्वदेश तथा विदेशमा रहेका वडाबासीको सहयोगमा १ हजार ३ सय थान किट जुटाएर वडाको टोल–टोलमा एन्टीजेन परिक्षण भइरहेको वडाध्यक्ष विकास राईले बताए ।
वडा कार्यालयको पहलमा जनसेवा समाज नेपाल, फ्रेण्डस् अफ नेचर, स्टोरिज अफ नेपाल, विभिन्न व्यक्ति लगायतबाट किट जुटाइएको हो । नगरपालिका, स्वास्थ्य कार्यालय लगायतबाट वडागतरुपमा किट प्राप्त हुने अवस्था नभएपछि वडा कार्यालय आफैले किट जुटाउन अग्रसरता देखाएको हो । वडाले जुटाएको एन्टीजेन किटबाट गरिएको परीक्षणका क्रममा हालसम्म जालपाका ५८ जनालाई कोभिड–१९ को संक्रमण पूष्टि भइसकेको छ । स्वास्थ्यमा गम्भीर समस्या नभएकाले संक्रमितलाई होमआइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ ।
नियमित आवत–जावत हुने छिमेकी वडाबाट समेत संक्रमण भित्रिने त्रास भएकाले दिक्तेल रुपाकोट मझुवागढी–११ खार्मीको साब्रु र रावाबेँसी गाउँपालिका–६ हौंचुरको राइसिंगेमा पनि एन्टीजेन परीक्षणको तयारी गरिएको वडाध्यक्ष राईले बताए । एन्टीजेन परिक्षणमा जालपा सामुदायीक अस्पताल र स्वास्थ्यचौकीको स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरिएको छ ।
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा कार्यालय जालपाले जालपा सामुदायीक अस्पतालमा पाँच बेडको अक्सिजन सहितको आइसोलेसन बनाएको छ । वडाभित्र संक्रमणबाट गम्भीर बिरामी परेको अवस्थामा संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि जालपा सामुदायीक अस्पतालमा अक्सिजन सहितको आइसोलेसन निर्माण गरिएको वडाध्यक्ष राईले बताए । आइसोलेसनमा ४० लिटरको अक्सिजन सिलिण्डर व्यवस्था गरिएको छ ।
स्वास्थ्य सामग्री जुटाउनका लागि वडा कार्यालयले पहल थालेपछि राष्ट्रिय आविष्कार केन्द्रले चार थान अक्सिजन कन्सन्ट्रेटर, तीन थान अक्सिजन सिलिण्डर, पिपिइ लगायतका स्वास्थ्य सामग्री उपलव्ध गराएको छ ।
यस्तै, केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा घर भइ हाल बेलायती सेनामा कार्यरत बिकास साम्पाङ राईले सामुदायीक अस्पताललाई ४७ लिटरको दुई थान अक्सिजन सिलिण्डर उपलव्ध गराएका थिए । हाल जालपा सामुदायीक अस्पतालमा ८ थान अक्सिजन सिलिण्डर जुटिसकेको वडाध्यक्ष राईले बताए ।