जेठ २२, खोटाङ - खोटाङमा दिक्तेलबजार सामाजिक गुठीले कोभिड–१९ को महामारीबाट बच्न र बचाउनका लागि अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री जुटाएको छ । कोभिड–१९ बाट संक्रमण भएको अवस्थामा स्थानीयलाई अकालमा ज्यान गुमाउनबाट बचाउनका लागि गुठीले ‘आफु पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारासहित सञ्चालन गरेको अभियानका क्रममा ४० लिटर क्षमताको २० वटा अक्सिजन सिलिण्डर, ३ हजार ५ सय थान मास्क र ३५ लिटर सेनीटाइजर जुटाएको हो । जिल्लामा अक्सिजनको अभाव झेलिरहेको अवस्थाका बिरामीलाई उपलव्ध गराउनेगरी अक्सिजन सिलिण्डर जुटाइएको दिक्तेलबजार सामाजिक गुठीका अध्यक्ष राजन शैंजूले बताए । महामारीमा मानव सेवाका खातिर सञ्चालन गरिएको अभियानका क्रममा शुभेच्छुक र सहयोगीले जुटाएको स्वास्थ्य सामग्री बिहिबार गुठीलाई हस्तान्तरण गरिएको छ । संस्थागत र व्यक्तिगत रुपमा प्राप्त भएको रकमबाट खरिद गरिएको अक्सिजन सिलिण्डर गुठीयार सदस्य रुद्रकुमार श्रेष्ठ (कुमार)ले उपलव्ध गराएको कोठामा स्टोर गरिएको छ । दाताबाट प्राप्त भएको मास्कमध्ये २ हजार थान मास्क र २५ लिटर सेनीटाइजर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई हस्तान्तरण गरिएको छ। कोभिड–१९ विरुद्ध ‘हटेर होइन, डटेर सामना गरौं’ भन्ने अभियानका अभियान्ता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडा सदस्य प्रकाश श्रेष्ठको रोहवरमा शैंजू पारिवारिक एकता समाजका उपाध्यक्ष राजेन्द्र लयालुले मास्क र सेनीटाइजर हस्तान्तरण गरेका हुन् । नगरपालिकालाई प्रदान गरेपछि बाँकी रहेको मास्क र सेनीटाइजर दिक्तेलबजारका गुठियार र गैर–गुठीयारलाई घर–घरमा पुगेर वितरण गरिएको दिक्तेलबजार सामाजिक गुठीका सचिव नूरकाजी श्रैंजूले बताए । गुठीलाई दिक्तेलबजार छोरीबुहारी समाज तथा ११ व्यक्तिबाट सहयोग प्राप्त भइसकेको छ । कोभिड–१९ विरुद्धको अभियानमा उपयोगी स्वास्थ्य सामग्री जुटाउनका लागि स्वदेशमा मात्र नभएर अष्ट्रेलिया, अमेरिका लगायतका देशमा समेत अभियान सुरु गरिएको छ । जिल्लामा सकेसम्म आइसियू र भेन्टिलेटर नै जुटाउने लक्ष्यका साथ विदेशमा अभियान जारी रहेको गुठीका सचिव श्रैंजूले बताए । पितृको सम्झनामा स्वास्थ्य सामग्री दिन गुठीको आग्रह दिक्तेल बजार सामाजिक गुठीले श्राद्ध वा पुण्य तिथिको अवशरमा पितृको सम्झनामा कोभिड–१९ को महामारीमा प्रयोग हुने स्वास्थ्य सामग्री प्रदान गर्ने/गराउने अभियान चलाउने तयारी गरेको छ । महामारीकाबेला श्राद्ध वा तिथि गर्न नसकिने अवस्थामा पितृको सम्झनामा मास्क, सेनीटाइजर, फेसशिल्ड लगायतका स्वास्थ्य सामग्री प्रदान गर्न गुठीले आव्हान गरेको छ । पितृको सम्झनामा मास्क, सेनीटाइज र फेसशिल्ड दिने अभियान केही दिनपछि नै सुरु गरिने गुठीका सचिव शैंजूले जानकारी दिए ।