खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेको सालम्बुमा १३ जनालाई कोभिड–१९ को संक्रमण देखिएको छ । सोही वडाको काहुले भन्ने टोलमा पनि ९ जनालाई संक्रमण पूष्टि भएको जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए ।
यस्तै, जन्तेढुंगा गाउँपालिका–५ खुटाको बितलवमा पनि ९ जना संक्रमित भेटिएका छन् । पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा यसरी कतिपय सिंगो गाउँमा संक्रमण फैलिएको पाइएको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए ।
केही समयअघि काहुलेको सालम्बुमा ४०÷४५ वर्ष भारत बसेका पुरुष बुढेस काल लागेपछि गाउँ फर्के । चार÷पाँच दशकसम्म परदेश बसेका मान्छे गाउँ आएपछि खुसीयालीमा छरछिमेक तथा आफन्त भेटघाटमा आउने नै भए ।
त्यहीक्रममा भएको भेटघाट र जमघटले सालम्बुमा संक्रमण फैलिएको अनुमान गरिएको छ । स्वास्थ्यमा समस्या भएपछि चेक गर्दा त्यी पुरुषलाई कोभिड–१९ संक्रमण भएको पूष्टि भएपछि उनका आफन्त छांगाबाट खसेजस्ता भएका थिए ।
‘लामो समयसम्म वेपत्ता भएको मान्छे गाउँमा आउँदा आफन्त खुसी मान्दै भेटघाटमा गए । त्यही कारण संक्रमण अरुलाई स¥यो,’ पोखरेलले भने, ‘बितलवमा पनि विवाह जस्ता सामाजिक कामले संक्रमण फैलिएको हुनसक्ने अनुमान छ ।
गाउँपालिकाले सिमित समुहको उपस्थितिमा सामाजिक कार्य गर्न भनेका थियौं त्यसको पालना भएन । अहिले पनि गाउँ–गाउँमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भएको देखिन्न ।’ जन्तेढुंगाका अन्य गाउँमा पनि भित्र–भित्रै भुसको आगोझैं संक्रमण फैलिरहेको अनुमान गरिएको छ ।
जन्तेढुंगा गाउँपालिकामा आइसोलेसन सेन्टरका लागि प्रयास गर्दा पनि अक्सिजन सिलिण्डर जुटाउन सकिएको छैन । प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा भएको दुई वटा खाली सिलिण्डर रिफिल गर्न समेत नपाइएको स्वास्थ्य संयोजक पोखरेलले बताए ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कको कट्वाल गाउँमा मात्र ३१ जना संक्रमित भेटिएका छन् । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको नुनथलाबजारमा पनि २६ जनालाई संक्रमण पूष्टि भइसकेको छ ।
जिकैको पञ्चरदोबाटोमा लाग्ने हाटमा भएको जमघट तथा विवाहभोजमा भएको भेटघाटले कट्वालगाउँमा भुसको आगो सरी संक्रमण फैलिएको अनुमान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । नुनथलाबजारमा भने विवाहका लागि सिन्धुली पुगेर आएका एक व्यक्तिबाट संक्रमण भित्रिएको अनुमान गरिएको छ ।
यस्तै, रावाबेँसी गाउँपालिकामा पनि एउटा सिंगो गाउँमा कोभिड–१९ को संक्रमण फैलिएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको वडा कार्यालय रहेको क्षेत्रमा १५ जनालाई संक्रमण भएको पूष्टि भएको छ । सो ठाउँमा प्रायः अधिकांश घरमा संक्रमित भेटिएका छन् ।
कतिपय सिंगो परिवार समेत संक्रमणको मारमा परेका छन् । संक्रमितको ‘हिस्ट्री’ अध्ययन गर्दा कुभिण्डेमा पनि सुनसरी पुगेर आएका व्यक्तिबाट गाउँमा संक्रमण भित्रिएको अनुमान गरिएको छ ।