खोटाङको सदरमुकाम दिक्तेल बजार आजबाट सिल गरिएको छ। दिक्तेल बजारसँगै १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नै सिल गरिएको नगरपालिकाका मेयर दिपनारायण रिजालले जानकारी दिए।
कोरोना भाइरस कोभिड–१९ दोस्रो लहरको उच्च जोखिम देखिएकोले आजबाट नगरपालिका सिल गरिएको र आवतजावत गर्ने कार्यलाई समेत पुर्णरुपमा बन्द गरिएको उनको भनाई छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका ५४ वर्षीय प्रदिप राजभण्डारीको गए राति जिल्ला अस्पतालमा कोरोना संक्रमणका कारण निधन भएको र नगर क्षेत्रभित्र संक्रमितको संख्या पनि बढ्दो अवस्थामा रहेको कुरालाई मध्यनजर गर्दै उच्च कडाईका साथ नगरपालिका सिल गरिएको बताइएको छ।
आजबाट बाक्लो रुपमा प्रहरी परिचालन गरिएको र हिडडुल गर्नलाई पनि पूर्णरुपमा प्रतिबन्द लगाइएको रिजालले जानकारी दिए।
यो समाचार तयार पार्दासम्म जिल्लाका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८६ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४३ जना, ऐसेलुखर्क गाउँपालिकामा ४० जना, जन्तेढुंगा गाउँपालिकामा २६ जना, रावाबेँसी गाउँपालिकामा २० जना, साकेला गाउँपालिकामा १६ जना, खोटेहाङ गाउँपालिकामा १२ जना, केपिलासगढी गाउँपालिकामा १० जना र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६ जना गरि २५९ जना सक्रिय संक्रमित रहेका छन्।
हालसम्म जिल्लामा २ जना संक्रमितको मृत्यु हुँदा १७ जना संक्रमितले कोभिड–१९ लाई जितिसकेका छन् ।