खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्री सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४२ वर्षीय डम्बर बहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रवीन्द्र कार्की र ७४ वर्षीय कृष्ण विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरियाले प्रभाव न्यूजलाई जानकारी दिए।
शनिवार राती १० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक सहितको खटिएको टोलीले उनीहरुबाट ३ थान भरुवा बन्दुक, मरेको मृगको टाउको, सालकको खपेटा ४८० ग्राम र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगायतका पदार्थहरू सहित नियन्त्रणमा लिएको चिमोरियाको भनाई छ।
यस्तै, बन्दुकको नाल ५ थान, भरुवा बन्दुकको बट १ थान लगायतका भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरू सहित उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ४ जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।