काठमाडौं –प्रधानमन्त्री शुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताएकी छन् । प्रधानमन्त्री निवास वालुवाटारमा दलका प्रतिनिधिसँगको छलफलमा कार्कीले निर्वाचनका निम्ति अहोरात्र खटिएर मन्त्री, सुरक्षा निकाय लगायतले काम गरिरहेको बताइन् ।
दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा प्रधानमन्त्री कार्कीले भनिन्, “यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो । त्यसमा समय लाग्यो ।”
सुरुआती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरुचाएको उनले बताइन् । “सुरुआती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइएको थिएन । राष्ट्रपतिबाट संवादको ढोका खोलिदिने काम भएको छ,” प्रधानमन्त्री कार्कीले भनिन् ।
अब संवादमा जेनजी र दलहरू बस्न आग्रह गरिन् । “जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ । चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ । यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ,” उनले भनिन् ।