• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


किरात ऐतिहासिक स्थल ‘तुवाचुङ–जायजुम’ लाई हराभरा बनाउन वृक्षारोपण

किरात ऐतिहासिक स्थल ‘तुवाचुङ–जायजुम’ लाई हराभरा बनाउन वृक्षारोपण

images

प्रभाव न्यूज

२५ श्रावण २०८२
  • 9.5K
    SHARES
  • images
    किरात ऐतिहासिक स्थल ‘तुवाचुङ–जायजुम’ लाई हराभरा बनाउन वृक्षारोपण
    images
    images
    images

    खोटाङ । किरात समुदायको उद्गमस्थल मानिने खोटाङको ‘तुवाचुङ–जायजुम’को संरक्षण गर्दै वातावरणीय हिसाबले हराभरा बनाउन वृक्षारोपण गरिएको छ ।

    images

    परिवर्तन सङ्घ खोटाङले शुक्रबार आयोजना गरेको वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालय खोटाङ र स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको विभिन्न प्रजातिका फलफूलका एक हजार १८० वटा बिरुवा रोपिएको हो ।

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र १० अर्खौलेको सिमानामा अवस्थित किरात ऐतिहासिकस्थल तुङचुङ–जायजुमलाई वातावरणीय हिसाबले हराभरा बनाउन वृक्षारोपण गरिएको सङ्घका अध्यक्ष तपसेन राईले जानकारी दिए ।

    “किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुम खुला ठाउँमा छ । यसलाई संरक्षण गर्दै वातावरणीय हिसाबले हराभरा बनाउने लक्ष्य लिएका छौँ । यो पहिलो चरणको कार्यक्रम हो”, उनले भने, “आगामी दिनमा मौसमी फलफूलका बिरुवा पनि रोप्ने योजना बनाएका छौँ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेछ ।”

    images

    समुद्री सतहदेखि करिब एक हजार ८०० मिटर उचाइमा पर्ने तुवाचुङ–जायजुममा पाँच सय वटा चिउरी, दुई सय वटा लाली गुराँस, दुई सय वटा स्थानीय जातका फूल, एक सय ५० वटा गुलाफ, एक सय वटा कल्फी र ३० वटा काँडे धुपीको बिरुवा रोपिएको जनाइएको छ ।

    images

    हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेशकुमार राउत, प्रवक्ता कमल गिरी, इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राई, तुवाचुङ–जायजुम संरक्षण समितिका सचिव भीमकेसर राई, हलेसी मन्दिर व्यवस्थापन समितिका सचिव अग्निराज राई, स्थानीयवासी लगायतगरी ७० जनाको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।

    विश्वप्रसिद्ध धार्मिकस्थल हलेसीभन्दा केही माथि अवस्थित किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजङमा केही समयअघि पर्खालसहितको पदमार्गसमेत निर्माण गरिएको थियो ।

    नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डनयनमन्त्रालयको लगानीमा चुना र इँट्टाको धुलोसँगै फ्लाइ स्टोन जोडेर सात सय ३० मिटर लामो पर्खालसहितको पदमार्ग निर्माण गर्नाले तुवाचुङ–जायजुम सुन्दर बन्दै गएको छ ।

    दायाँ/बायाँ भिरालो जमिन रहेको तुवाचुङ–जायजुमबाट सूर्योदय र सूर्यास्तको दृश्य प्रत्यक्षरूपमा अवलोकन गर्न सकिन्छ ।

    आकाश खुलेका दिन उत्तरतिर पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै उच्च हिमाली शृङ्खलाहरु टलक्क चाँदी झै टल्किएको देखिन्छ ।हिमाल, पहाड र तराईसम्मको दृश्य सहजै अवलोकन गर्न सकिने यस ऐतिहासिक एवं पर्यटकीयस्थलमा निर्माण गरिएको पदमार्गले थप आकर्षक बनाएको हो ।

    तयामा र खियामाले तान बुनेको यो ऐतिहासिक स्थलमा अहिले दुई वटा तान बुनेको ढुङ्गाको दोखाम (तान) प्रत्यक्ष रूपमा देख्न सकिन्छ । किरात मुन्दुमी मिथकअनुसार, तुवाचुङ–जायजुममा तयामा र खियामा (दिदीबहिनी) ले कपडा बुन्ने गर्दथे । उनीहरू कपडा सभ्यताका उद्यमी मानिन्छन् ।

    तुवाचुङ–जायजुममा किरात आदिम पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा यसअघि नै स्थापना गरिएको छ ।

    हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक तुवाचुङ–जायजुम पुग्ने गर्छन् । तयामा र खियामाले तान बुन्दै गरेको प्रतिमा निर्माणका लागि रु ३० लाख तथा गार्डेन (बगैँचा) सहितको किरात सांस्कृतिक घर निर्माणका लागि रु २५ लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ ।

    प्रतिमा र सांस्कृतिक घरसमेत यसै वर्षभित्र निर्माण गरिने नगरप्रमुख विमला राईले जानकारी दिइन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डमा पर्ने तुवाचुङ–जायजुममा उँधौली र उँभौलीमा तीन चुल्हाको पूजा गर्दै बृहत् साकेला सिली प्रदर्शन गर्ने गरिएको छ ।

    तुवाचुङ–जायजुममा नेपालका सबै जिल्ला तथा छिमेकी देश सिक्किम, दार्जिलिङ, भुटानलगायत किरात समुदाय आउने गरेका छन् । बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने तुवाचुङ–जायजुमलाई नेपाल सरकारले निर्धारण गरेको एक सय वटा पर्यटकीय गन्तव्यअन्तर्गत पर्ने मुन्दुम ट्रेल (पदमार्ग) ले छोएको छ ।

    किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजुममा किराती सभ्यताको अध्ययन तथा अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । -रासस

    images
    images

    प्रकाशित :श्रावण २५, २०८२ शनिवार - १९:५२:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij