खोटाङमा थप छ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। कन्ट्रयाक ट्रेसिङ, संकास्पद व्यक्ति तथा उच्च जोखिम क्षेत्रबाट आएकाहरुको बुधबार एन्टिजिन परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमण पुष्टि हुनेमा जिल्ला अस्पताल दिक्तेलमा कार्यरत ३५ वर्षीया महिला कर्मचारी र खाद्य संस्थानमा कार्यरत २९ वर्षीय पुरुष छन्। यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माका २७–२७ वर्षीय दुई पुरुष, सोही स्थानका २० वर्षीया महिला र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पूष्टि भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले जानकारी दिए।
कन्ट्रयाक ट्रेसिङ, संकास्पद व्यक्ति तथा उच्च जोखिम क्षेत्रबाट आएका ३९ जनाको एन्टिजिन परिक्षण गर्दा छ जनामा संक्रमण देखिएको हो । केही संक्रमितहरुमा सामान्य रुघाखोकी देखिएको छ।
संक्रमित सबैजना होम आइसोलेसनमा रहेका छन्। मंगलबार चार जनाको एन्टिजिन परिक्षण गर्दा दुई जनामा कोरोना देखिएपछि आज उनीहरुको नजिक रहेका तथा उच्च जोखिम क्षेत्रबाट आएकाहरुको एन्टिजिन परिक्षण गरिएको हो ।
योसँगै जिल्लामा संक्रमितको संख्या १२ जना पुगेको छ।