खोटाङ – खोटाङमा सञ्चालित सालपा बिकास बैंकले मुन्दुम ट्रेल (मुन्दुम मार्ग)मा आवत–जावत गर्ने पर्यटकको आकस्मिक उद्धारका लागि कोष स्थापना गरिदिने भएको छ ।
खोटाङबासीको सहकार्यमा २०६९ साल साउन ३ गतेदेखि दिक्तेलबजारबाट बैंकिङ कारोबार शुरु गरेको बैंकले पुर्वका खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थलको पर्यटन प्रवद्र्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेलमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकको आकस्मिक उद्धार तथा खोज कार्यकालागि सालपा वेलफेयर ट्रष्ट स्थापनामा सहयोग गर्ने भएको हो ।
पर्यटकलाई हाइअल्टिच्यूडको समस्या भएको अवस्थामा, लडेर चोट पटक लागेको अवस्थामा वा चट्याङ जस्ता प्राकृतिक विपत्तीमा परेको अवस्थामा तत्काल उद्धार तथा खोज कार्यका लागि बैंकले ट्रष्ट स्थापनामा सहयोग गर्ने भएको मुन्दुम ट्रेलका प्रवद्र्धक मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्धन केन्द्र (एमटिएसएसटिसिपी)का अध्यक्ष रमेश राईले बताउनुभयो ।
मुन्दुम ट्रेलमा आकस्मिक उद्धारका काम गर्नका लागि हेलीकोप्टर चार्टर गर्नुपर्ने अवस्थालाई ध्यान दिएर बैंकले कोष स्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको हो । बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत मुन्दुम ट्रेलमा आकस्मिक उद्धारको कामका लागि कोष स्थापनामा सहयोग गर्ने निर्णय गरिएको पुर्वसांसद एवं सालपा बिकास बैंकका अध्यक्ष टंक राईले बताउनुभयो ।
होमस्टेको सट्टा गोठस्टे
सालपा माइक्रोफाइनान्समार्फत सञ्चालित बैंकले मुन्दुम ट्रेलमा होमस्टेको सट्टामा गोठस्टे निर्माणका लागि पनि सहयोग गर्ने भएको छ । टेम्के मैयूंदेखि भोजपुर खण्ड, खोटाङको केपिलासगढी हुँदै भोजपुर र सोलुखुम्बु क्षेत्रमा पर्ने मन्दुम ट्रेलमा भएका सयौं गोठलाई नै गोठस्टे बनाउनका लागि बैंकले मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्धन केन्द्रलाई सहयोग गर्ने भएको हो ।
मुन्दुम ट्रेलमा चौंरी तथा गाईभैंसीका तीन चार सयको हाराहारीमा गोठ छन् । हाल सालपा पोखरी जाने–आउने स्थानीयले झरी वा रातका समयमा तिनै गोठमा सेल्टर लिने गरेका छन् ।
गोठलाई सुधार गरेर बस्न लायक बनाउन सके गोठस्टेको विकास गर्न सकिने बैंकका अध्यक्ष राईले बताउनुभयो । यस्तै, सालपा पोखरीको पुजाआजालाई व्यवस्थित बनाउनका लागि समेत बैंकबाट प्रतिवद्धता आएको मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्धन केन्द्रले जनाएको छ ।