खोटाङ- देशमा बेरोजगारीको अवस्था दिनानुदिन चर्किदै गएको छ । बेरोजगारीकै कारण दिन प्रतिदिन लाखौं युवायुवतीहरु विदेश जान बाध्य छन् । नेपालमा भनेजस्तो रोजगारी नपाएपछि अर्काको देशमा गएर पसिना बगाउन विवश छन् ।
आर्थिक स्थिति र रोजगारी अभाव भएका कयौं नेपालीको समस्या जिउँका तिउँ छ राज्य मुखदर्शक छ । खोटाङको चुइचुम्मा गाउँपालिकाको कार्यालयले कार्यालय सहयोगीको जागिर खुलाउँछ ।
कार्यालयलाई चाहिने १५ जना त्यो पनि करारमा । आवेदन परेको छ ५५ जनाको ।
गाउँपालिका, वडा कार्यालय र स्वास्थ्यचौकीका लागि कार्यालय सहयोगी नियुक्ती गर्न खुलाइएको विज्ञापनमा ५५ जनाले आवेदन दिएको गाउँपालिकाका सुचना अधिकारी पिएस्पी चाम्लिङ राईले बताए ।
नयाँ कार्यालय सहयोगी नियुक्तीका लागि गाउँपालिकाले साउन २२ गतसम्म आवेदन दिन सकिनेगरी साउन १६ गते आवेदन आव्हान गरेको छ ।
गाउँपालिकाले पुःनर्ताजगीका लागि भन्दै साउन १५ गते करारका कार्यालय सहयोगी सहित ५७ जना जनाको करार अवधि थप नगर्ने निर्णय गरेको थियो।
सोही रिक्त स्थानमा गाउँपालिकाले नयाँ कार्यालय सहयोगी नियुक्ती गर्न लागेको हो।
बढ्दो बेरोजगारी समस्य र धेरैको योग्यता पुग्ने भएका कारण कार्यालय सहयोगीमा तीन गुणा बढीको आवेदन परेको हुनसक्ने गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए।
कार्यालय सहयोगी छनौट परिक्षा साउन २४ गते गाउँपालिकाको केन्द्र याङसोलाटारमा परिक्षा हुने गाउँपालिकाले जनाएको छ।