खोटाङ - खोटाङ यातायात प्रालिले अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द फिर्ता गरेको छ । सिराहाको मिरचैया–उदयपुरको कटारी–घुर्मी सडक स्तरोन्नतीका लागि आवश्यक बजेट व्यवस्थाको माग गर्दै यातायात प्रालिले गत सोमबारदेखि आव्हान गरेको अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द बिहिबार फिर्ता गरेको हो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री बशन्तकुमार नेम्वाङले बिहिबार सिद्धिचरण राजमार्ग अन्तरगत पर्ने घुर्मी–कटारी–मिरचैया सडक स्तरोन्नतीका लागि पर्याप्त बजेट व्यवस्था गर्दै बहुवर्षीय योजनाकारुपमा अघि बढाउने र आगामी दुई वर्षभित्र दुई लेनको कालोपत्रे सडक बनाउने प्रतिवद्धता जनाएसँगै यातायात प्रालिले अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द फिर्ता लिएको हो ।
सडक स्तरोन्नतीका सन्दर्भमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री नेम्वाङबाट माग सम्बोधन भएसँगै दिक्तेलबाट धरान, बिराटनगर र बिर्तामोड आवत–जावत गर्ने सवारी साधन नियमित गराइएको खोटाङ यातायात प्रालिका अध्यक्ष टेकेन्द्र राईले बताउनुभयो । नेकपा एमालेका प्रमुख सचेतक एबं प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रतिनिधिसभा सदस्य भेषकुमारी राउत, कांग्रेस नेता रामहरि खतिवडा, उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भीमकुमारी राउत, सिद्धिचरण राजमार्ग संघर्ष समिति सामु भौतिक पुर्वाधार तथा यातायात मन्त्री नेम्वाङले घुर्मी–कटारी–मिरचैया सडकलाई दुई लेनको कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका छन् ।
वार्ताकाक्रममा मन्त्री नेम्वाङले घुर्मी–कटारी सडक आयोजनालाई बहुवर्षीय ठेक्का लगाउन मिल्नेगरी बजेट व्यवस्था गर्ने र दुई वर्षभित्र डबल लेनको कालोपत्रे सडक बनाउने प्रतिवद्धता जनाएको नेकपा एमालेका प्रमुख सचेतक एबं प्रतिनिधिसभा सदस्य भट्टराईले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष घुर्मी–कटारी–मिरचैया सडक मेन्टिनेन्सका लागि चालु आर्थिक वर्ष ३० करोड बजेट व्यवस्था गरेको जानकारी दिइएको छ ।
मिरचैया–घुर्मी–कटारी सडक खण्डको ओटासिल पिच उक्किएपछि जिर्ण बनेको तथा सडक दुर्घट्नाका कारण जनधनको क्षती हुँदा पनि राज्यको ध्यान नपुगेको भन्दै यातायात प्रालिले अनिश्चितकालिन यातायात बन्द गरेको थियो । हाल जिर्ण अवस्थामा पुगेको मिरचैया–कटारी–घुर्मी सडक स्तरोन्नतीको माग गर्दै खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बु उद्योग बाणिज्य संघले चैत ३१ गते भौतिक पुर्वाधार तथा यातायात मन्त्री नेम्वाङ ज्ञापनपत्र बुझाएका थिए ।
तराईसँगको लिंक रोडकारुपमा रहेको सडक जिर्ण हुँदा यात्रा गर्नदेखि माथिल्लो सगरमाथा क्षेत्रमा उपभोग्यवस्तु ढुवानीमा सकस भइरहेकाले मिरचैया–कटारी–घुर्मी सडक स्तरोन्नतीको माग राखिएको उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो ।