नयाँ सत्ता समिकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पहल थालेको छ।
आज सभापति शेरबहादुर निवास बूढानिलकण्ठमा बसेको ३ दलको बैठकमा कांग्रेसले नयाँ सरकार कांग्रसको नेतृत्वमा बनाउन पहिलो पटक औपचारिक प्रस्ताव गरेको हो।
बैठकमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी सहभागी थिए। बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठक सत्ता समीकरणका लागि थालिएको पहल भएको बताए।
उनले नयाँ सरकार बनाउनुपर्छ भन्नेमा एकमत बनाउन प्रयास भएको र नयाँ सरकारबारे जसपाले चाँडै निर्णय गरेपछि बैठक बसेर थप निर्णयमा पुग्ने शर्माले जानकारी दिए।
बैठकबाट बाहिरिँदै जसपाका अध्यक्ष महन्थ ठाकुरले भने नयाँ सरकारका बारेमा पार्टीमा छलफल गर्नै बाँकी रहेको बताए। “कांग्रेसले सरकार बनाउने, तपाईंहरु सहयोग गर्नुस् भनेर आयो ।
हामीले छलफल गरेका छैनौं, अब छलफल गर्छौँ,” ठाकुरले भने । कांग्रेसले बैठकमा ३ दल मिलेर सरकार बनाउनका लागि प्रस्ताव गरेको पनि उनले बताए। त्यस्तै, माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सभापति देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णयमा आफूहरुको धारणा बुझेको बताए।
उनले केपी ओली सर्वसत्तावादी भएकाले स्वतन्त्र चुनाव हुँदैन भन्दै कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रस्ताव राखेको श्रेष्ठले बताए। श्रेष्ठले कांग्रेसको सरकार बनाउने प्रस्ताव स्वागतयोग्य भन्दै आफूहरु ओलीको विकल्पमा अर्को सरकार बन्नुपर्ने पक्षमा रहेको बताए ।