नेपाल पत्रकार महासंघको अध्यक्षमा दिलीप खत्री निर्वाचित भएका छन् । महासंघ जिल्ला शाखाको छैठौं अधिवेशन एबं नवौं साधारणसभा अन्तरगत भएको निर्वाचनबाट खत्री अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् ।
उनी बिपुल पोखरेल नेतृत्वको गठबन्धनबाट अध्यक्ष बनेका हुन् । सोही गठबन्धनबाट अध्यक्षका प्रत्यासी भीम राईले उम्मेद्वारी फिर्ता लिएपछि खत्री निर्बिरोध भएका हुन् । बुधबार भएको निर्वाचनबाट महासंघको उपाध्यक्षमा टिवन राई, उपाध्यक्ष (महिला)मा कृष्णकला राई, सचिवमा लोकमणी रिजाल, सह–सचिव (खुला)मा चिसाङ शेर्पा, उमेश पदम भुजेल तथा कोषाध्यक्षमा भूमीका न्यौपाने निर्वाचित भएका छन् । शेर्पा, भुजेल र न्यौपाने पनि निर्बिरोध निर्वाचित भएको जिल्ला निर्वाचन समितिका संयोजक कृष्ण आचार्यले बताए ।
अन्य पद निर्बिरोध भए पनि उपाध्यक्ष, उपाध्यक्ष (महिला), सचिव र चार सदस्यका लागि मतदान भएको थियो । अध्यक्ष खत्री प्रेस युनियन, उपाध्यक्ष टिवन प्रेस चौतारी, उपाध्यक्ष (महिला) कृष्णकला प्रेस युनियन, रिजाल प्रेस चौतारी, शेर्पा प्रेस युनियन, भुजेल र न्यौपाने प्रेस चौतारीमा आवद्ध छन् ।
यस्तै, सदस्य (जनजाती)मा उजुर राई निर्विरोध भएका छन् । सुर्य तामाङ, खेमराज अधिकारी, दिवस रिजाल र दिनराज कार्की भने मतदान प्रकृयाबाट निर्वाचित भएका हुन् । उजुर र सुर्य प्रेस संगठन, खेमराज र दिवस प्रेस चौतारी तथा दिनराज प्रेस युनियनकातर्फबाट चुनावी मैदानमा उत्रिएका थिए ।
मतदानमा कुल २६ मतदाताले मतदान गरेका थिए । महासंघका निर्वाचित पदाधिकारी र सदस्यलाई बिहिबार निर्वाचन समितिका संयोजक आचार्यले निर्वाचित भएको प्रमाण–पत्र प्रदान गरेका छन् ।
२०६० सालदेखि पत्रकारिता सुरु गरेका अध्यक्ष खोटाङखबर साप्ताहिक र रोदिकखबर डटकमका सम्पादक हुन् । २०६१ साल माघ ९ र १० गते सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखाको पहिलो अधिबेसनबाट सदस्य बनेका खत्री २०६४ साल माघ १४ गते सम्पन्न दोश्रो अधिबेशनबाट उपसभापति बनेका थिए ।
२०६७ साल फागुन १ गते भएको तेश्रो अधिबेशनमा अध्यक्षमा पराजित खत्री १० वर्षपछि अध्यक्षमा निर्बिरोध भएका हुन् । २०६७ सालदेखि २०७५ सालसम्म नेपाल प्रेस युनियनको जिल्ला अध्यक्ष लगायतका जिम्मेवारी वहन गरेका खत्रीले नेपाल टेलिभिजन, रासस, अन्नपूर्ण पोष्ट लगायतका सञ्चार माध्यममा काम गरिसकेका छन् ।