• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङको विजयखर्कको डढेलो गाउँ पस्यो, चार घर जले, एक घाइते, आगो नियन्त्रण बाहिर

खोटाङको विजयखर्कको डढेलो गाउँ पस्यो, चार घर जले, एक घाइते, आगो नियन्त्रण बाहिर

images

प्रभाव न्यूज

११ चैत्र २०७७
  • 15.9K
    SHARES
  • images
    खोटाङको विजयखर्कको डढेलो गाउँ पस्यो, चार घर जले, एक घाइते, आगो नियन्त्रण बाहिर
    images
    images
    images

    जंगलमा लागेको डढेलोले खोटाङमा ४ वटा घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १५ विजयखर्कस्थित ३ वटा सामुदायिक वनमा फैलिएको डढेलो गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेको हो । स्थानीय जुरेथुम्का र साँघुरी सामुदायिक वनमा लागेको डढेलोले बसोबास नभएको घर जलेको हो । घरमा ताल्चा लगाएर तराई बसाइँ सरिसकेका ३ जना ढकाल परिवारको घरभित्रको भाँडाकुँडा भने निकालेर जोगाइएको स्थानीय सागर खनालले बताए । ८ वर्षअघि जंगलमा लागेको डढेलोमा घर गुमाएका ढकाल परिवारले पुनर्निर्माण गरेको घर पुनः डढेलोले खाएको हो । त्यतिबेला विष्णुप्रसाद खनालको घर पनि डढेलोले जलेको थियो । गाउँमा पसेको डढेलोले सहकारीबाट १ लाख ७० हजार रुपैयाँ अनुदान लिएर बनाएको भुजेलको बाख्रा फार्मसमेत खरानी भएको स्थानीय किसन भुजेलले जानकारी दिए । भुजेलको घरमा भने वर्षायाममा मात्र बस्ने गरिएको थियो । आगो नियन्त्रणका लागि दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली डढेलो प्रभावित क्षेत्र पुगेको छ । अहिले पनि सुरक्षाकर्मी र स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रणमा चम्पावती माविका कक्षा ९ र १० का छात्रछात्रा र शिक्षकसमेत खटिएका छन् । डढेलोले ३ घर जलेको जानकारी आए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए । हलेसी तुवाचुङको वडा नम्बर ११ राजापानीतिरबाट ३ दिनअघि सुरु भएको डढेलो विजयखर्कको साँघुरी सामुदायिक वन हुँदै अन्य वनमा प्रवेश गरेको हो । डढेलोबाट घर जोगाउन कतिपय स्थानीयले छानामा पानी छ्यापेर बसिरहेका छन् । आगोबाट घर जोगाउन छानामा पानी छ्याप्ने क्रममा लडेर स्थानीय मोहन विश्वकर्मा घाइते भएका छन् । उनको देब्रे हात भाँचिएको छ । उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि स्वास्थ्य संस्था पठाइएको खनालले बताए । डढेलोले जुरेथुम्का सामुदायिक वनको पूर्व र पश्चिम मोहडा, साँघुरी सामुदायिक वन र भुन्टेम्मा सामुदायिक वनको अधिकांश भाग जलिसकेको छ ।

    images

    images
    images

    प्रकाशित :चैत्र ११, २०७७ बुधवार - १७:५५:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij