खोटाङ- नेपाली काँग्रेसका नेता शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी भदौमा हुने १४ औँ महाधिवेशनमा केन्द्रीय सभापति बाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताएका छन्।
नेपाल प्रेस युनियन खोटाङले शनिबार त्रिधार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सभापतिका लागि उम्मेदवारी दिनेबारे समर्थक र नेताहरुसँग छलफल भइरहेको बताएका हुन्।
अहिले नेपाली काँग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकाले काँग्रेसलाई लिकमा ल्याउन आफूले सभापतिको दाबी गरेको उनको भनाइ छ । पत्रकार सम्मेलनमा डा. कोइरालाले सर्वोच्च अदालतले संसद पुःर्नस्थापना गरे पनि हालसम्म संसद चल्न नसक्दा अनिर्णयको बन्दी बन्न पुगेको बताएका छन्।
सर्वोच्च अदालतले एमाले र माओबादी केन्द्रलाई व्यूँताएपछि मुलुकमा झनै जटिलता थपिएको डा. कोइरालाले बताएका हुन। ‘फागुन ११ गते संसद पुःर्नस्थाना भयो । फागुन २३ गते संसदको पहिलो बैठक राखियो ।
त्यो बैठकमा जुन दृश्या देखियो, त्यो दृश्याले संसद अनिर्णयको बन्दी बन्यो भन्ने देखाउँछ। संसद अनिर्णयको बन्दी बनिसकेपछि सरकारको औचित्य रहँदैन,’ डा. कोइरालाले भने, ‘सर्वोच्चको दोश्रो निर्णयले त झनै अप्ठ्यारो परिस्थिति सिर्जना गरिदियो, जटिलता थपिदियो। नेकपा एमाले र माओबादी केन्द्रलाई पुर्ववत स्थानमा फर्कनु भनिदियो। एउटै पार्टी बनेर अघि जाने हो भने निर्वाचन आयोगमा दल दर्ता गराउनु भन्यो। सर्वोच्चले आफ्नो निर्णय दियो तर निर्वाचन आयोग नै अनिर्णयको बन्दी बन्यो। आयोगले पहिल्यै निर्णय दिन सकेको भए शायद सवोच्चले यस्तो निर्णय गर्दैनथे होला।’
डा. कोइरालाले मुलुकमा देखिएको वर्तमान समस्याको निकास निर्वाचन मात्र भएको दाबी गरेका छन्। निर्वाचन नभए देशमा अप्ठ्यारो परिस्थिति सिर्जना हुने र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चलखेल बढ्नसक्ने भएकाले सकेसम्म चाँडो निर्वाचनमा जानुपर्ने डा. कोइरालाको भनाई थियो। ‘अव देशलाई निकास दिन र संसद चल्नका लागि हामीसित निर्वाचन बाहेक अर्को निकास छैन।
निकासको निम्ति निर्वाचन चाहिन्छ। नत्र संसद चल्दैन। संसदमा हंगामा भइरहन्छ र देश अप्ठ्यारो परिस्थितिमा जान सक्छ। अप्ठ्यारो परिस्थितिमा देश जाँदा राष्ट्रिय र अन्र्तराष्ट्रिय चलखेल बढ्न सक्छ,’ कोईरालाले भने, ‘अवको निकासको बाटो भनेको निर्वाचन नै हो। तर, त्यो निर्वाचन बहुमतको सरकारले गर्न सक्दैन भन्ने नजिर बसिसक्यो । त्यसका लागि अल्पमतको सरकार आवश्यक छ ।
त्यतातिर कांग्रेसले पहल गर्नुपर्छ।’ डा. कोइरालाले विप्लव र रेशम चौधरीलाई सत्ता साझेदारीको ‘टुल्स’ बनाइनु गलत भएको धारणा राखेका छन्। ‘बडा विचित्र छ यो देश । विप्लवलाई नेकपामा ल्याइयो, कति ठाउँमा त ताण्डव नृत्य देखाइयो । त्यो सही, रेशम चौधरी गलत भन्ने हुँदैन। विप्लव पनि गलत हो, रेशम चौधरी पनि गलत हो,’ कोइरालाले भने, ‘राजनीतिमा कसलाई ल्याउँदा देशको अभिष्ट पुरा हुन्छ त्यो इम्पोटेन्ट कुरा हो।
कसलाई ल्याउँदाखेरी देशलाई फाईदा हुन्छ भन्नेमा हाम्रो ध्यान गएको छैन।’ नेकपा माओबादी केन्द्रले समर्थन फिर्ता नगरेसम्म वर्तमान सरकार कायम रहने उल्लेख गर्दै कोइरालाले कांग्रेसलाई सरकारमा जाने हतारो नभएको बताए।