खोटाङ- खोटाङका नेपाल बिद्यार्थी संघका नेता किसन भुजेलले भेटेको पैसा प्रहरीलाई बुझाएका छन्।
नेबिसंघका जिल्ला सह–सचिव भुजेलले हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित ‘रक गार्डेन’मा बिहिबार फेला पारेको ९८ हजार रकम ईलाका प्रहरी कार्यालय हलेसीलाई बुझाएका हुन्।
भुजेलले ‘रक गार्डेन’मा घुमफिर गर्नेक्रममा ९८ हजार रकम, सामसुङ मोबाईल लगायत राखिएको झोला फेला पारेका थिए। भुजेलले भेटेको रकम हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकै आशिष राईको भएको खुलेको छ।
प्रहरीले बिहिबार नै राईलाई नगद, मोबाईल बुझाएको जनाएको छ। राई आफ्नै गाउँमा तरकारी उत्पादन गर्ने कृषक हुन्। ‘मैले हराएको पैसा यसरी पाउछु भन्ने आश गरेकै थिएन।
तर, असल व्यक्तीले भेटेको पैसा प्रहरी मार्फत फिर्ता पाउँदा अत्यन्तै खुसी छु,’ राईले भने, ‘समाजमा किसन जस्ता मान्छेको खाँचो छ। उहाँलाई मेरो हृदयदेखि नै सम्मान गर्न चाहान्छु।’
पर्यटकीय क्षेत्रकारुपमा बिकास हुँदै गरेको रक गार्डेनमा पैसा भेटेका भुजेलले हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, उपमेयर बिमला राईलाई पनि फोन गरेर जानकारी गराएर प्रहरीलाई बुझाएका थिए।