काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका सांसदहरुलाई आफ्नो कित्तामा ल्याउने प्रयास विफल भएपछि नेकपाको पुष्पकमल दाहाल प्रचण्ड - माधव नेपाल पक्ष नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयार भएको छ।
सर्वोच्च अदालतको फैसलाबाट फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएपछि विजयी महसुस गरेको दाहाल नेपाल खेमाले अब ओलीको विकल्पका रुपमा कांग्रेस सभापति देउवालाई स्वीकार गर्ने अवस्थामा पुगेको हो।
एक हप्ताको अवधिमा ओली पक्षमा रहेका केही सांसदलाई आफ्नो कित्तामा ल्याएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयास गरे पनि विफल भएपछि प्रचण्ड नेपाल समूह ओलीलाई सत्ताबाहिर राख्न देउवालाइ पाँचौपटक प्रधानमन्त्री बनाउने मनस्थितमा पुगेको बताइएको छ।