• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


अहिले कसैसँग हाम्रो पार्टीले प्रणाम गर्न जरुरी छैन : मुख्य सचेतक विशाल भट्टराई

अहिले कसैसँग हाम्रो पार्टीले प्रणाम गर्न जरुरी छैन : मुख्य सचेतक विशाल भट्टराई

images

प्रभाव न्यूज

१५ फाल्गुण २०७७
  • 18.7K
    SHARES
  • images
    अहिले कसैसँग हाम्रो पार्टीले प्रणाम गर्न जरुरी छैन : मुख्य सचेतक विशाल भट्टराई
    images
    images
    images

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसदहरू रहेको दाबी गरेका छन्।

    images

    संसद्मा आवश्यक परे त्यो देखाउन आफूहरू तयारी अवस्थामा रहेको भट्टराईको भनाई छ। शनिवार रिपोर्टर क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरू रहेको जिकिर गरेका हुन्। उनले भने-‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दाबाका साथ भन्छु-उहाँ बहुमतमा हुनुहुन्छ। आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौँ।

    उहाँको पक्षमा सङ्ख्याको कुरा गर्नुहुन्छ भने पनि एक सयभन्दा बढी सांसद छन्।’ आयोजित साक्षात्कारमा बोल्दै उनले जनताले नेकपालाई झन्डै दुई तिहाइ बहुमत दिएर पठाएको तर पार्टीभित्रकै केही नेताहरूको स्वार्थका कारण दुई वर्ष नपुग्दै प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरु भएको सुनाए।

    उनले भने, ‘प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने खेल सुरु भयो, यसको आभास पाउने बित्तिकै उहाँसँग दुई वटा विकल्प थिए, एउटा आत्मसमर्पण गर्ने, अर्को संसद् विघटन गर्ने, यो बाहेक उहाँसँग अर्को विकल्प थिएन। उहाँले भारी मनका साथ प्रतिनिधिसभा विघटन गर्नुभयो।’ प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरू पार्टीलाई जनस्तरसम्म लिएर जान सफल भएको पनि उनको भनाई छ।

    images

    सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पूनःस्थापना गरेको फैसलालाई आफूहरूले सम्मान गर्ने पनि उनले सुनाए। उनले सर्वोच्च अदालतको फैसलाबमोजिम सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेका लागि बोलाउन सिफारिस गरिसकेको जनाए। संसद् प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरूले त्यहीँ प्रतिवाद गर्ने पनि भट्टराईले जनाए।

    images

    उनले आफूहरूले प्रचण्ड र माधव कुमार नेपाललाई अहिलेसम्म कारबाही नगरेको पनि जनाए। तर, चितवनको सभा स्थल छोडेर काठमाडौँ आएका प्रचण्ड-नेपाल हस्याङफस्याङ गर्दै अर्को पार्टीका सभापतिलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै गएको भन्दै उनले आलोचना गरे।

    उनले प्रचण्ड र माधव नेपाललाई पनि अहिले पनि सच्चिने ठाउँ रहेको सुनाए। तर, त्यसको लागि प्रचण्डले पार्टी कमिटी बैठकमा पेस गरेको १९ पृष्ठ लामो आरोप पत्र फिर्ता गर्नुपर्ने सर्त राखेका छन्। उक्त आरोप–पत्र फिर्ता, संसद्को पूरा अवधि नै केपी ओली प्रधानमन्त्री र अर्को महाधिवेशनसम्म अध्यक्ष स्वीकार गर्नुपर्ने उनले धारणा राखे। संसद्को अधिवेशन (फागुन २३) गते अघि नै आफूहरूको संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए।

    उक्त बैठकमा सहभागी हुनको लागि दाहाल–नेपाललाई पनि उनले आग्रह गरे। तत्काल नआए पनि केही नगर्ने उनले जनाए। प्रधानमन्त्री ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरूले डटेर सामना गर्ने उनले जनाए।

    तर, पार्टीका सांसदहरूले पार्टीको ह्विप उल्लङ्घन गरे विधानअनुसार कारबाही गरिने पनि उनले चेतावनी दिए। उनले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्थागत रूपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि जिकिर गरे। उनले पहिला कसको कित्तामा उभिने भनेर काँग्रेसले कित्ता क्लियर गर्नुपर्ने पनि धारणा राखे।

    तर, अहिले नेकपा नफुटेकोले आफूहरूसँग नै एकल बहुमत रहेको भट्टराईको जिकिर छ। उनले भने,‘अहिले कसैसँग हाम्रो पार्टीले प्रणाम गर्न जरुरी छैन।’ निर्वाचन आयोगले नेकपाको आधिकारिकताको सवालमा आफूहरूलाई नै आधिकारिकता दिने पनि उनले विश्वास दिलाए।

    उनले भने,‘केही साथीहरू बाहिर जानुभएको छ, उहाँहरू पनि आउनुहुन्छ।’ एमसीसीको सवालमा प्रधानमन्त्री ओली पक्षमा नै रहेको उनले सुनाए। तर, प्रचण्डले बाहिर विरोध गरेकोजस्तो गर्ने तर एमसीसीको विरोधमा नारा लाग्दा आफैले रोकेको पनि उनले सुनाए।

    images
    images

    प्रकाशित :फाल्गुण १५, २०७७ शनिवार - २०:१७:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij