दैनिक आठ घण्टाभन्दा कम सुत्ने अधिकांश मानिसमा मानसिक तनाव एवम् निराशा (डिप्रेसन)को समस्या देखिने एक अध्ययनले देखाएको छ।
अमेरिकाको न्युयोर्कस्थित विघम्टन विश्वविद्यालयलको एक अध्ययनले सो तथ्य पत्ता लगाएको हो। सुत्ने समयावधि र मानसिक अवस्थाबीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्ने व्यक्तिमा बढी मानसिक समस्या र चिन्ता देखिएको हो।
विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई आउने पाइएको उल्लेख गरिएको छ।
आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुण्ठा, तनाव र निराशा धेरै हुने अध्ययनले देखाएको छ। त्यसैगरी सो अध्ययनले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पनि पत्ता लगाएको छ। अनियमित सुताई भएकाहरुमा नकारात्मक सोचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर समेत पर्ने गरेको अध्ययनले देखाएको छ।
अनुसन्धान टोलीका एकजना सदस्यले नकारात्मक सोचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको बताए। अनुसन्धानकर्ताहरुले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टा सुत्नुपर्ने सुझाव पनि दिएका छन्।