आगोले जलेर गम्भीर घाईते भएकी खोटाङको खोटेहाङ गाउँपालिका-७ खोटाङबजार धनमुढाकी १०१ वर्षकी हिमादेवी अधिकारीको मृत्यु भएको छ।
शुक्रबार बिहान गाईबस्तुलाई खोले पकाउनका लागि बालेको आगो ताप्नेक्रममा शरीरमा आगो लाग्दा गम्भीर घाईते भएकी अधिकारीको केही घण्टापछि मृत्यु भएको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए।
वृद्धा अधिकारी गाउँपालिकाभरीकै सबैभन्दा ज्येष्ठ नागरिककारुपमा सम्मानित व्यक्ती हुन् । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवशरमा गत असोज १५ गते खोटेहाङ गाउँपालिकाले गाउँपालिभरीकै सबैभन्दा ज्येष्ठ नागरिककारुपमा हिमादेवीलाई सम्मान गरेको थियो। आफन्त नभएकी बृद्धा स्थानीय रामप्रसाद पौडेलको घरमा बस्दै आएकी थिईन् ।
उनको शरीरमा लगाएको लुगाबाट शरीरमा आगो लागेको अनुमान गरिएको छ । लुगा डढेको गन्धका आधारमा आफन्तले उनलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए। शरीरका केही ठाउँ बाहेक सबै भागको छाला जलेका कारण छटपटाइरहेका अधिकारीलाई स्वास्थ्यकर्मी लगेर स्लाइन चढाउँन खोज्दा स्लाइन नचढेको वडाध्यक्ष फुयाँलले बताए।
जलेर शरीरको छाला पिल्सिएका अधिकारीलाई आगोबाट उद्धार गरेपछि केराको पातले शरीर ढाकेर राखिएको थियो। प्रहरीले भने घटनाको पूष्टी गर्न बाँकी रहेको जनाएको छ।
बाबुआमाको एक्लो सन्तान रहेकी हिमादेवीको बाल्यवस्थामै भोजपुर भुल्केमा भट्टराई थरका पुरुषसँग विवाह भएको थियो। तर बिवाहपछि माईतीमै फर्किएर बसेकी उनी बाबुआमाको मृत्युपछि आफन्तको घरमा बस्दै आएकी थिईन्।
विभिन्न आफन्तको घरमा आश्रय लिएरै वृद्धावस्थामा पुगेकी उनी लामो समयदेखि पौडेलको घरमा बसिरहेको वडाध्यक्ष फुयाँलले बताए।