खोटाङका १० स्थानीय तहमध्ये तीन पालिका सम्मानित भएका छन्। आर्थिक वर्ष २०७७-०७८ मा उत्कृष्ट काम गर्ने हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ऐंसेलुखर्क गाउँपालिका सम्मानित भएका हुन्।
कोरोना भाइरस न्यूनिकरण तथा रोकथाम, स्वास्थ्य जाँच, २४ से घण्टा स्वास्थ्य सेवा प्रवाह, महिला, सुत्केरी महिला, बालवालिका, दीर्घ रोगी, बृद्धबृद्धालाई घरमै जाँच तथा औषधि व्यवस्थापन, कोभिडका विरामीको हेरचाह तथा चेकचाँज लगायत अन्य थुप्रै स्वास्थ्य क्षेत्रमा अब्बल काम गरेको भन्दै सो पालिकाहरुलाई स्वास्थ्य कार्यालय खोटाङले सम्मान गरेको हो।
एक वर्षको पेरीफेरीमा स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट काम गरेपछि हलेसी तुवाचुङ नगरपालिका प्रथम भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोस्रो र ऐंसेलुखर्क गाउँपालिका तेस्रो भएको छ।
वार्षिक समिक्षा तथा प्रगति मुल्याकंनमा १० वटा स्थानीय पालिकाहरुमध्ये स्वास्थ्य क्षेत्रमा सबैभन्दा राम्रो काम गर्ने तीन पालिकालाई एक कार्यक्रमकाबिच सम्मान गरिएको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए।
स्वास्थ्य क्षेत्रलाई चुस्तदुरुस्त राख्दै सर्वसाधरण तथा विरामीको सेवामा समर्पित रहने हलेसी तुवाचुङ नगरपालिका स्वास्थ्य सह संयोजक प्रकाश घिमिरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थराज आचार्य र ऐंसेलुखर्क गाउँपालिकाका संयोजक रामकाजी नेपाललाई धन्यवाद सहित सम्मानित गरिएको सिक्देलले बताए।
घिमिरे, आचार्य र नेपालले कोरोना भाइरसको महामारीमा समेत डटेर आफ्नो पालिकालाई बचाउन भुमिका निर्वाहा गरेका थिए।