• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


आजबाट स्वस्थानी ब्रत प्रारम्भ, यस्तो छ व्रतको नियम

आजबाट स्वस्थानी ब्रत प्रारम्भ, यस्तो छ व्रतको नियम

images

प्रभाव न्यूज

१५ माघ २०७७
  • 18.9K
    SHARES
  • images
    आजबाट स्वस्थानी ब्रत प्रारम्भ, यस्तो छ व्रतको नियम
    images
    images
    images

    धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी आजबाट प्रारम्भ भएको छ।

    images

    आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्दछन्। यो वर्त पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ।

    सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ। व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता अनुसार परापूर्वकालबाटै चिताएको पुग्ने विश्वासमा श्रीस्वास्थानीको व्रत बस्ने चलन छ।

    यस अवधिमा स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ। श्रीस्वस्थानीको व्रतकालमा काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी तथा सतिदेवीका अङ्ग पतन भएका शक्तिपिठहरुमा घुइँचो लाग्ने गर्दछ।

    images

    श्रीस्वस्थानीको व्रतमा नेपाली भूमिको वर्णन गरीएको छ । श्रीस्वस्थानीमा चर्चा गरिएको शाली नदी र श्लेशमान्तक वन नेपालमा छ। कथामा उल्लेखित हुने विषय र घटना नेपाल कै सेरोफेरोमा भएको स्कन्द पुराणमा उल्लेख छ । साथै पार्वतीका पिता हिमालय पनि नेपाली हिमक्षेत्रमा रहेको बताइएको छ।

    images

    व्रतको नियम :

    प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमाका दिनदेखि यस व्रतको सुरुवात हुन्छ।

    पौष शुक्ल चतुर्दशीको दिन हातखुट्टाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर व्रतको आरम्भ गर्नुपर्दछ। यसरी पवित्र भएर हविष्य (दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादीको सात्विक पदार्थहरू) भोजन ग्रहण गर्नुपर्दछ। सोही दिन श्रीस्वस्थानी माताको स्थापनारपूजा स्थान सरसफाई गरी लिपपोत गर्नु पर्दछ ।

    व्रतकाल भरी भूमिमा शयन गर्नु पर्दछ। दिनको एक छाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ । व्रत समापन नहुन्जेल पुरुष ब्रतालुले रौं काट्न हुदैन । यस एक महिनाको अवधिमा सत्य बोल्ने, झगडा नगर्ने जथाभावी नहिँड्ने र एकभक्त भएर ईश्वरको पूजामा सामेल हुनुपर्छ भन्ने मान्यता छ । साथै महिनाभरि अनिवार्य ब्रह्मचर्यको पालन गर्नुपर्दछ ।

    शुद्घ वा धोएका वस्त्रहरु पहिरीने र शौच गए पछी हरेक पटक पवित्र जल छर्केर शुद्ध हुनुपर्छ । व्रतको पहिलो दिन अर्थात पौष शुक्ल पूर्णीमाका दिन बिहानै उठी नदिमा स्नान (नदि नभए घरमा तर शौचालय नजाडिएको अलग्गै स्थानमा) गरी शुद्घ वस्त्र पहिरिएर कुशको आसनमा नभए ऊनको त्यो पनि नभए कम्मलको आसनमा बसेर पूजा गर्नुपर्दछ।

    त्यसपछि तामाको लोटामा पञ्चगब्य अर्थात गोबर, गोमुत्र, दुध, दहि र घ्यूका साथै तिल, सरस्यु र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरी अभिशेक बनाएर ‘अपवित्रः पवित्रो वा’ भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनु पर्दछ । त्यसपछी त्यसै अभिशेक बाट ‘मैले आजसम्म मन, वचन र कर्मले जानी नजानी गरेका सम्पूर्ण पाप नाश भई मलाई यस लोकमा सुख शान्ति प्राप्त भई अर्को लोकमा शिवलोक प्राप्ति होस् भन्ने कामना सहित एक महिना सम्म श्रीस्वस्थानी माताको नियम अनुसार व्रत बस्नेछु’ भनी संकल्प गर्नुपर्दछ।

    त्यसपछी आफूले विगतमा खाएका अभक्ष पदार्थको प्रायश्चित वा शुद्धिका लागी गोदान (सके गाई नसके गोबरमा यथासक्य भेटी वा सुवर्ण राखी गोदान) गर्नु पर्दछ । गोदानपछि दिप, गणेश र कलशको पूजा गर्नु पर्दछ। दिप गणेश र कलशको पूजा सम्पन्न भैसके पछी एउटा तामाको थालीमा रक्त चन्दनले अष्टदल कमल बनाई कमलको बिचमा श्रीस्वस्थानी माताको सुनको प्रतिमा (नसके यथासक्य भेटि राखि) स्थापना गर्नु पर्दछ। अष्टदल कमलको वरिपरि क्रमशः वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा र महाकालीको स्थापना र पूजा गर्नु पर्दछ ।

    त्यसपछि प्रत्येक मध्यान्नमा श्रीस्वस्थानी माता र श्री महादेवको आरधना गर्नुपर्दछ । दिप, गणेश र कलश को पूजा गर्नुका साथै अष्टमात्रिका र श्रीस्वस्थानी माताको पूजा आचमन, अर्घ, पाद्य, पंचामृत, चन्दन, धूप, दिप, नैबेद्य, बस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रब्य, सेलरोटी, हलुवा इत्यादी चढाउनु पर्दछ। पूजा सकेपछि फूललिई हात जोडेर एकचित्त एक भक्तिका साथ श्रीस्वस्थानी माताको निम्न मन्त्रले ध्यान गरि साष्टाङ्ग दण्डवत् गर्नुपर्दछ :

    सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् । सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।। नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् । खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।। चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् । एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।

    अर्थात सुनको जस्तै दिब्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्प झैं प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण हरुले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड्ग, चर्म र नीलोत्पल धारण गरेकी, चारबाहु भएकी यस्ती श्री स्वस्थानी माताको हृदयमा ध्यान गर्दछु ।

    पूजापछि आफूले जुन कामना चिताएको हो त्यो कामना पूर्णहोस् भनी श्री स्वस्थानी मातालाई अर्घ्य दिनु पर्दछ । त्यसपछि साँझमा श्रीस्वस्थानी माताको कथा बाचन गरी परीवारजन, आफन्त, छिमेकी लगायतलाई सुन्ने वा सुनाउने गर्नु पर्दछ । कथा सुन्ने श्रोता नभए पनि आफै कथा वाचन गरी सुन्नु पर्दछ । आफुले कथा वाचन गर्न नसके ब्राह्मण वा परिवारका सदस्य वा अन्य ब्यक्तिबाट वाचन गराउनु पर्दछ ।

    वाचन गर्नेले कुनै अभक्ष पदार्थ खाएको हुनु हुदैन । कथा आरम्भ गर्नु भन्दा पहिले र कथा भनिसके पछि धूप, दिप, फूल, चन्दन, अक्षता र भेटी चढाई पुस्तकको पनि पूजा गर्नु पर्दछ । कथा पछी आरती गर्नु पर्दछ । आरती पछी कथा सुन्ने जति सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गर्नुपर्दछ । यसरी एक महिनासम्म नित्य पुजा कार्य गरी माघ शुक्ल पूर्णिमाको दिन व्रतको समापन गर्नुपर्दछ ।

    सो दिन नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिव लिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नुपर्दछ । श्रीस्वस्थानी मातासंगै महादेवको पनि अराधना गर्नुपर्ने हुन्छ । समापन पूजामा १०८ सेलरोटी, १०८ टुक्रा सुपारी, १०८ बेली पुष्प, १०८ पान, १०८ जनै, १०८ अक्षता, भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ वटा चढाउनु पर्दछ ।

    पूजा पछी १०८ पटक परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । ब्रत प्रतिष्ठा पछि ‘हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो’ भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८र८ वटा प्रसाद झिकि सगुन सहित आफ्ना श्रीमान, श्रीमान नभए छोरा, छोरा नभए मित छोरा र मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदीमा बगाई दिनुपर्दछ ।

    सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु पर्दछ । यतिगरी सकेपछी श्रीस्वस्थानी माताको प्रसादले व्रतकर्ताको समस्त दुःख नास भई मनोकामना पूर्ण हुने श्रीस्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ ।

    images
    images

    प्रकाशित :माघ १५, २०७७ बिहिवार - ०६:४१:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij