काठमाडौं - प्रतिनिधि सभा विघटन बिरुद्ध नेपाली कांग्रेसले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
कांग्रेसले मंगलबार बसेको केन्द्रीय समिति बैठक मार्फत पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
कांग्रेस सहमहामन्त्री डा.प्रकाशसरण महतले सम्पन्न भइसकेका संघर्षका कार्यक्रमको समीक्षा गर्दै संसद विघटन बिरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिए।
तेस्रो चरणका आन्दोलनमा भातृ तथा शुभेच्छुक संस्थालाई अघि सार्ने नीति कांग्रेसले लिएको छ। जसअनुसार १९ माघमा भ्रातृ संस्थाको नेतृत्वमा ७७ वटै जिल्लमा प्रदर्शन हुनेछ।
यसैगरी २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा र ३० गते सबै जिल्लामा स्थानीय पार्टी तहकै नेतृत्वमा प्रदर्शन गर्ने निणर्य गरिएको एक नेताले जानकारी दिए।
काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने संयुक्त आयोजना हुनेछ। यस अघि प्रतिनिधि सभा विघटन बिरुद्ध पहिलो चरण अन्तर्गत कांग्रेसले १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आन्दोलन गरेको थियो।
यस्तै दोस्रो चरण अन्तर्गत २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्र ३ माघमा ७५३ स्थानीय तहका पालिकामा तथा ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन सहितका सभा गरेको थियो।