साउन १६, काठमाडौं - रुख कटहर, अंग्रेजीमा ज्याकफ्रुटको नामले चिनिने यो फलसँग नेपालमा बसोबास गर्ने सम्भवतः सबैजना परिचित नै हुन्छन्।
दक्षिण एशियाभरि नै र प्रशान्त क्षेत्रमा खेती गरिने यो फलमा आँप, केरा, खरबुजा र मेवाका स्वादहरुको सम्मिश्रण हुन्छन्। काँचोमा तरकारीको रुपमा पकाएर खान सकिने तथा पाकेपछि सोझै मीठो फलको रुपमा यसको गुदी खान सकिन्छ।
यो अहिलेसम्म ज्ञात रुखमा फल्ने फलहरुमा सबैभन्दा ठूलो फल पनि हो। यो फल आकारमा ३ फिट लामो र २० इन्च चौडासम्म हुने गर्छ। पाकेको अवस्थामा एउटै कटहर २७ किलोसम्मको पनि हुन सक्छ।
कटहरमा पर्याप्त मात्रामा कार्बोहाइड्रेड, खाद्य फाइबरहरु, भिटामीन ए, भिटामी सी र विभिन्न भिटामीन बीहरु पाइन्छन्।
यो पोटासियम, म्याग्नेसियम, म्याग्नेस, क्याल्सियम र फलाम जस्ता उपयोगी तत्वरुको पनि राम्रो स्रोत हो।
कटहरको नियमित सेवनले मानिसको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने गर्छ। अझ पाकेको कटहरको सेवनले त क्यान्सरको सम्भावनालाई समेत कम गराउने अध्ययनहरुले देखाएको छ।
कटहरको सेवन गर्ने गर्नाले मानिसको मुटु स्वस्थ रहने, पाचन प्रणाली सुदृढ हुने र खानेकुराहरु राम्ररी पच्ने गर्छ।
कटहरले खानेकुराको समेत काम गर्ने गर्छ। एउटा पाकेको कटहरको १० गेडा फल खाने हो भने हामीलाई कैयौं घण्टासम्म भोक नै पनि लाग्दैन अर्थात् हामी अघाउने गर्छौं।
कतिपय मानिसहरु त कतिसम्म मान्छन् भने यो खाद्यान्नको अभाव भएको अवस्थामा भोकमरीलाई कम गर्नका लागि एउटा राम्रो खाद्यस्रोत समेत बन्न सक्छ।