आजबाट देशैभरी चिसो बढ्ने भएको छ ।
काठमाडौंको आजको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ ।
विहान साढे ६ बजेको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए । उनका अनुसार आज काठमाडौंमा दिउँसोको तापक्रम १८–२० डिग्री सेल्सियसको बीचमा हुने छ । केही दिन अझै तापक्रम घट्दै जाने उनी बताउँछन् ।
“हामी धेरै लामो समयको मौसमी विवरण त पूर्वानुमान गर्न सक्दैनौं । तर, आगामी तीनदिनको मौसमी विवरण हेर्दा चिसो थप बढ्दै जाने देखिन्छ । तर, चिसो एकचोटी अत्यधीक होइन विस्तारै सामान्य रुपमा बढ्ने देखिन्छ,” उनले भने ।
अहिले (विहान) देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरोसमेत लागे पनि दिउँसो क्रमशः हट्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली तथा प्रदेश १, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले तापक्रममा कमी आउँदा चिसो बढ्नेभन्दै यसबाट बच्न सतर्क हुन आग्रह गरेको छ ।