बुधबार, अशोज १, २०७६
Prabhav News

आफ्नै नवनिर्मित भवनबाट खोटाङको रावाबेँसी गाउँपालिकाको सेवा सुचारु



आफ्नै नवनिर्मित भवनबाट खोटाङको रावाबेँसी गाउँपालिकाको सेवा सुचारु

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – भाडाको घरमा सञ्चालन हुँदै आएको खोटाङको रावाबेँसी गाउँपालिकाको कार्यालय भूकम्प प्रतिरोधी आफ्नै भवनमा सरेको छ । स्थानीयवासीले उपलब्ध गराएको चार वटा भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाको कार्यालय सोमबारदेखि औपचारिक रुपमा भूकम्प प्रतिरोधी भवनमा सरेको हो ।

तोकिएको समयभन्दा पाँच महिनापछि निर्माण सम्पन्न भएको कार्यालय भवन सोमबार गाउँपालिका प्रमुख लिलानाथ निरौलाले झण्डोत्तोलन गरेर उद्घाटन गर्नुभयो । ठेकेदार कम्पनी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रालिले ७६ लाखको लागतमा निर्माण गरेको एक तले भवन १४ कोठे रहेको छ ।

महिला र पुरुषका लागि छुट्टाछुट्टै चार वटा सौचालय समेत रहेको कार्यालय भवन सुविधा सम्पन्न रहेको जनाइएको छ । ईटाको बाहिरी गाह्रो र स्टिल ट्रष्ट प्रयोग गरेर जस्तापाताको छानो हालिएको भवनमा आल्मोनियमको कोठा बनाइएको छ । प्राविधिक मुल्याङ्कन भन्दा कम लागतमा निर्माण गरिएको भवनका लागि गाउँपालिकाले रु एक करोड तीन लाखमा टेण्डर आव्हान गरेको थियो । ठेकेदार कम्पनीले तीन महिनाभित्र सम्पन्न गरेर बुझाउनेगरी मङ्सिर १५ गते सकिएको थियो ।

लामो समयपछि कार्यालय आफ्नै भवनमा सरेपछि दैनिक कामकाजमा सहज भएको गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो । “जनताको काम गर्न उपयुक्त वातावरण पनि चाहिन्छ ।” उहाँले भन्नुभयो, “भाडाको कच्ची घरमा कर्मचारी नै अट्ने अवस्था थिएन । अहिले आफ्नै भवनमा सरेपछि सबै समस्या हल भएको छ ।” भवन निर्माण शुरु गर्दा गुणस्तरहिन सामग्री प्रयोग गरेको पाएपछि सम्पन्न नहुँदै गाउँपालिका प्रमुख निरौलाले कोदालोले खनेर भत्काउनुभएको थियो ।

भवनको भित्री भागको भुँइमा गरिएको ढलान, भवनको गाह्रो, बाहिरपट्टी गरिएको प्लास्टर लगायत भत्काएपछि पुनः गुणस्तरीय काम भएको जनाइएको छ । रावाबेँसी गाउँपालिकासँगै निर्माण कार्य थालिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको भवन सात महिनाअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिप्रुङ चुइचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिका बाहेक सबै भाडाकै भवनमा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : सोमवार, चैत्र ११, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology