बुधबार, अशोज १, २०७६
Prabhav News

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष कैद

  • प्रदेश १
  • प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५


आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष कैद

ओखलढुंगा – आफ्नै नाबालिका छोेरी बलात्कार गर्ने बाबुलाई ओखलढुंगा जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको छ ।

ओखलढुंगाको सुनकोशी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा यो सजाय निर्धारण गरिएको ओखलढुंगा जिल्ला अदालतका श्रेष्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए। पौड्यालका अनुसार हाडनाता करणीतर्फ जन्मकैद अर्थात् २५ वर्ष र जबरजस्ती करणीतर्फ जन्मकैदको आधा सजाय १२ वर्ष ६ महिना गरी दुई कसुरमा ३७ वर्ष ६ महिना सजाय तोकिएको हो ।

मुलुकी अपराध संहिता कार्यान्वयनमा आएपछि कसुर निर्धारण गरेपछि सजाय निर्धारण गरेर यति धेरै वर्ष कैद फैसला भएको पहिलो मुद्दा यही भएको श्रेस्तेदार पौड्यालले बताउनुभयो । यसअघि पनि अभियुक्त पुर्पक्षका लागि कारागारमा थिए । प्रहरी र अदालतले पीडितको पहिचान खुल्ने भएकाले पीडकको नाम सार्वजनिक गरेको छैन । पीडक ०७५ असोज १३ गते १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए ।

उनीविरुद्ध कात्तिक ८ गते ओखलढुंगा जिल्ला अदालतमा जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दा दर्ता भएको थियो । पीडित बालिकाले अधिकारकर्मीको सहयोगमा बाबुबाट आफू पटक–पटक बलात्कृत भएको उजुरी गरेकी थिइन् ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology