शुक्रबार, अशोज ३, २०७६
Prabhav News

गगन थापा उत्रिए सडकमा : ‘सिंहदरबारमा आराम छ, जनताको जीवन हराम छ’

  • राजनीति
  • प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६


गगन थापा उत्रिए सडकमा : ‘सिंहदरबारमा आराम छ, जनताको जीवन हराम छ’

प्रभाव न्यूज – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापा आफू निर्वाचित काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को सडकको विषयलाई लिएर आन्दोलनमा उत्रिएका छन् ।

प्रतिपक्षी कांग्रेसले बनाएको छायाँ सरकारमा शिक्षा मन्त्रालय हेर्ने जिम्मेवारी समेत पाएका सांसद थापाले आफ्नो क्षेत्रका मतदातासहित सडक विभागमा आन्दोलन गर्न पुगेका छन् ।

सांसद थापासहित सडक विभाग पुगेका जनताले सडक विभागभित्र धर्ना शुरू गरेका छन् । दिउँसो १२ बजेदेखि पूर्व मन्त्री थापासहित सर्वसाधारणले विभागमा धर्ना गरिरहेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रका सडकको गुणस्तर सुधार्नुपर्ने र मर्मत गर्नुपर्ने माग राख्दै मतदाता बोकेर पूर्व मन्त्री थापाले आन्दोलनको नेतृत्व गरेका छन् ।

आन्दोलनमा सहभागी सर्वसाधारणले प्लेकार्ड बोकेका छन् । प्लेकार्डमा ‘कुर्सीमाथि उठ्ने हो, बाटो बनाउन जुट्ने हो’, ‘सिंहदरबारमा आराम छ, जनताको जीवन हराम छ’, ‘सरकार र ठेकेदार, क्षतिपूर्तिको हाहाकार’, ‘घोक्रो सुकिसक्यो, अलकत्रा उप्किसक्यो, हामी क्षेत्र नम्बर ४ को सकारात्मक विचारको’, ‘खेतमा मलको अभाव छ, बाटोमा ढलको बहाव छ’, ‘सरकारको दुराचार, क्षेत्र नम्बर ४ मा अत्याचार’ लगायत नारा लेखिएका छन् ।

सडक विभागमा सडक मर्मत गरिदिन माग गर्दा १ हप्तामा गर्छाै भनेको काम १ महिनासम्म पनि नभएको सांसद थापाले गुनासो गरे । ‘आजको आन्दोलन सांकेतिक धर्ना हो,’ उनले भने, ‘यति गर्दा पनि काम नभए हामी सिंहदरबारभित्र मन्त्रालयमा गएर धर्ना बस्छौं ।’

प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology