शनिबार, अशोज ४, २०७६
Prabhav News

भवन निर्माणको नौ लाख १९ हजार रुपैयाँ प्रअ कुमार पराजुलीले गोजी भरेको आरोप

  • अर्थ
  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६


भवन निर्माणको नौ लाख १९ हजार रुपैयाँ प्रअ कुमार पराजुलीले गोजी भरेको आरोप

खोटाङ – भवन निर्माणकाक्रममा खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिनानाथ माबिका प्रअ कुमार पराजुलीमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । प्रअ पराजुलीमाथि आर्थिक वर्ष २०७२/०७३ मा तत्कालिन जिल्ला शिक्षा कार्यालयमार्फत प्राप्त भएको ६ कोठे भवन निर्माणकाक्रममा अनियमितता भएको आरोप लागेको हो ।

पुःननिर्माण प्राधिकरणको अनुदानमा विद्यालय भवन निर्माण गर्नेक्रममा अनियमितता भएको भन्दै आवाज उठ्न थालेपछि विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम थापाको संयोजकत्वमा गठन गरिएको छानवीन समितिले नौ लाख १९ हजार ८३० रुपैयाँ बराबरको बीलभपाईलाई अयोग्य ठहराएको प्रतिवेदन सार्वजनिक भएको छ ।

असार १७ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा भवन निर्माणकाक्रममा अस्वभाविक खर्च भएको भन्दै आवाज उठेपछि गठन गरिएको तीन सदस्यीय छानवीन समितिले भदौ ३ गते आफ्नो अध्ययन प्रतिबेदन बुझाएको हो ।

प्रतिबेदनमा नौ लाख १९ हजार ८३० रुपैयाँ बराबरको बील भपाई अयोग्य ठहराइएको व्यवस्थापन समितिका अध्यक्ष राजन बञ्जराले बताए ।

क्रमागत योजना अन्तरगत जिल्ला शिक्षा कार्यालयमार्फत छ कोठे भवन निर्माणका लागि ४८ लाख बजेट प्राप्त भएको थियो । तर, तत्कालिन वडाको एक लाख र विद्यालयको आन्तरिक श्रोतको रकम थप गरेर कुल ८२ लाख ९७ हजार ९२२ गरेर नौ कोठे भवन बनाइएको समितिले औंल्याएको छ ।

भवन निर्माणकाक्रममा आन्तरिक श्रोतबाट ३४ लाख ९७ हजार ९२२ रुपैयाँ खर्च भएको उल्लेख गरेको छ ।

विद्यालय भवन निर्माणका लागि शिखर ट्रेडर्स गाईघाटबाट जस्तापाता खरिदमा प्रयोग भएको ५३४ नम्बरको पान बिलमा दुई लाख सात हजार खर्च देखाइएको, स्टीमेट नामको एउटै बिलमा एक लाख ५० हजार, शिव कपडा तथा किराना पसल खोटाङबजारको विलबाट ढुंगा ढुवानीको विल बनाएको पाइएको छानवीन समितिको प्रतिबेदनमा उल्लेख छ ।

तर, प्रअ पराजुलीले भने ७२ लाख ५० हजारमा विद्यालय भवन तयार भएको बताएका छन् ।

प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology