शनिबार, अशोज ४, २०७६
Prabhav News

उदयपुर कांग्रेसद्धारा ३३४ परिवारलाई राहत वितरण



उदयपुर कांग्रेसद्धारा ३३४ परिवारलाई राहत वितरण

उदयपुर – राजनैतिक दलहरु चुनावको समयमा मात्र जनताको घर दैलोमा पुग्छन्, जनतालाई समस्या पर्दा सुन्दैनन् भन्ने साझा जनगुनासो आउने गरेको छ । तर नेपाली कांग्रेस उदयपुरले भने प्राकृतिक प्रकोपबाट पिडित उदयपुरका ३३४ परिवारको घरमै पुगेर राहत वितरण गरेको छ ।

नेपाली कांग्रेस उदयपुर काठमाण्डौ सम्पर्क समितिको अगुवाईमा उदयपुरका बाढि, पहिरो र डुवान पिडितलाई राहत वितरण गरेको हो । जिल्लाभरका विभिन्न स्थानमा गरी प्राकृतिक प्रकोपबाट पिडित भएका ३३४ परिवारलाई राहत वितरण गरेको नेपाली कांग्रेस उदयपुर काठमाण्डौ सम्पर्क समितिले जनाएको छ । सम्पर्क समितिले श्रावण अन्तिम साता जिल्लाको उदयपुरगढि गाउँपालिका ६ र ८ नम्बर वडामा पुगेर राहत वितरण गरेको थियो ।

उदयपुरगढि ६ का ३२ परिवार र ८ का २१ परिवारलाई ३० केजी चामल, ३ केजी दाल, ३ केजी नुन र २ लिटर तेल राहत स्वरुपमा प्रदान गरिएको नेपाली कांग्रेस उदयपुरका विद्यार्थी विभाग प्रमुख एलबी कार्कीले जानकारी दिनु भयो । प्रभावित क्षेत्रहरुमा पुगेर कांग्रेस उदयपुर काठमाण्डौ सम्पर्क समितिका सभापती भक्त रानामगर, राहत संकलन समितिका संयोजक केशबकुमार बुढाथोकी, कांग्रेस उदयपुरका आमन्त्रित जिल्ला सदस्य शिव कटुवाल, सम्पर्क समितिका कोषाध्यक्ष प्रकास खड्का, सम्पर्क समितिका क्षेत्रीय सभापती निर्मल तामाङ, तरुण दलका प्रतिनिधि शसी लामा लगायतको टोली पुगेर राहत प्रदान गरिएको हो ।

राहत वितरण टोलीले रौतामाई गाउँपालिका ७ का १७ परिवार र ८ का २७ परिवारलाई पनि राहत वितरण गरेको छ । प्रहरी, स्थानिय जनप्रतिनिधि लगायतको रोहबरमा राहत वितरण गरिएको हो । कांग्रेसले कटारी नगरपालिका वडा नम्बर ६, ७, ९, ११ र १२ का २६ परिवार, चौदण्डिगढि नगरपालिका ३० परिवारलाई राहत प्रदान गरेको छ । चौदण्डिगढि नगरपालिका प्रमुख खगेन्द्र राई सहितको सहभागीतामा राहत वितरण गरिएको हो ।

यता जिल्लाको सबै भन्दा बढि प्रभावित क्षेत्रको रुपमा रहेको वेलका नगरपालिकाका वडा नम्बर १ तल्लो बल्हीका ६७ परिवार वडा नम्बर २ का ५६ परिवारलाई राहत प्रदान गरिएको थियो । राहत प्रदानको क्रममा नेपाली कांग्रेसका स्थानिय नेता, स्थानि जनप्रतिनिधि लगायतको उपस्तिथी रहेको थियो । असार अन्तिम साता अबिर बर्षा सहित आएको प्राकृतिक प्रकोपको कारण पिडित भएका परिवारको लागि नेपाली कांग्रेस उदयपुर काठमाण्डौ सम्पर्क समितिले राहत संकलन अभियान सुरु गरेको थियो ।

राहत संकलनको क्रममा सिटिजन बैंकले एक लाख र नेपाली कांग्रेस प्रति आस्था राख्ने उदयपुर काठमाण्डौ सम्पर्क समितिमा आबद्ध सदस्यहरुबाट संकलित करिब ६ लाख बराबरको रकमबाट राहत प्रदान गरिएको कांग्रेस उदयपुर काठमाण्डौ सम्पर्क समितिले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology