बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

खोटाङ आउन बढी भाडा माग्ने हेलिकोप्टर कम्पनीलाई कारबाही गर्न निर्देशन



खोटाङ आउन बढी भाडा माग्ने हेलिकोप्टर कम्पनीलाई कारबाही गर्न निर्देशन

खोटाङ – तोकिएभन्दा झन्डै दोब्बर भाडा माग्ने हेलिकोप्टर कम्पनीलाई कारबाही गर्न सरकारले निर्देशन दिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रभु हेलिकोप्टार कम्पनीमाथि आवश्यक छानविन गरी कारबाही गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो।

प्रभु हेलिकोप्टर कम्पनीले बिरामी लिन चार्टरमा खोटाङ जानका लागि ३ लाख १५ हजार मागेको भन्दै उजुरी परेको थियो। खोटाङ सेवा समाजका सचिव समेत रहेका बाजिन्द्र बिष्टले खोटाङको सावाकटहरेबाट बिरामी ल्याउन सुरुमा ३ लाख १५ हजार मागेको र पछि २ लाख ८५ हजारभन्दा कममा नजाने भन्दै सिकिस्त बिरामी ल्याउन नमानेको भन्दै साउन १८ गते मन्त्रालयमा निवेदन दिएका थिए।

रकम बढी मागेपछि प्रभु हेलिकोप्टर प्रयोग गरिएको थिएन। नेपाल सरकारको २०७२ चैत ७ गतेको निर्णय अनुसार दुर्गम क्षेत्रमा हेलिकोप्टर उडानको दररेट निर्धारण गरिएको थियो। उक्त निर्णय अनुसार आर ४४ समूहका हेलिकोप्टरको प्रतिघण्टा उडान दर एक हजार अमेरिकी डलर निर्धारण गरिएको छ।

प्रभु हेलिकोप्टरले माग गरेको रकम निर्धारित दरभन्दा बढि हो, होइन ? उक्त उजुरीको सम्बन्धमा के भएको हो ? दुर्गम क्षेत्रमा बस्ने सर्वसाधारणको उपचारसँग जोडिएको विषयमा छानविन गरी सत्यतथ्य विवरण मन्त्रालयमा पेश गर्न प्राधिकरणलाई भनिएको छ।

प्रकाशित मिति : आइतवार, साउन २६, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology