बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

नारा स्थिरताको, अभ्यास निरंकुशताको

  • तेजिन्द्र घिमिरे प्रभाब न्युज
  • बिचार/ब्लग
  • प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६


नारा स्थिरताको, अभ्यास निरंकुशताको

मुलुक यतिवेला इतिहासकै संकटपूर्ण घडीबाट गुज्रिरहेको छ । नेपालको इतिहासमा राणा शाशन पछिको कालखण्डमा निकै कम समय मात्र कुनै दलले एकलौटी बहुमत ल्याएर पाँच वर्षे स्थिर सरकार सञ्चालन गर्ने अभिमत जनताबाट पाएका थिए । तर, विविध कारणले गर्दा नेपाली जनताको लोकतान्त्रिक स्थिर सरकार निर्माणको सपना पुरा हुन सकेन ।

नेपाली राजनीतिक असफलताले मुलुकको विकास हुन सकेन । त्यसैले देशमा सर्वहारा जनताको स्थिर सरकारको अवाश्यकता छ । जनतालाई चिल्ला र झुट्टा आश्वसन बाढेर सपनाको संसारमा पु¥याई एकल तानाशाही राजनैतिक दर्शनबाट दिक्षित नेपालका कम्यूनिष्टहरुले एकता गरि निर्वाचनमा होमिए । कम्युनिष्टको चिल्ला सपनामा दिग्भ्रमित हुँदै नेपाली जनताले परिक्षण स्वरुप नेपालका तत्कालिन दुई र हाल एउटै भएको कम्युनिष्ट पार्टीलाई बहुमत सहित सरकार सञ्चालनको जिम्मेवारी सुम्पेका छन् । तर, विडम्बना सरकार गठनको डेढ वर्षको अवधिमा जनताले सेवक बनेर जिम्मेवारी पुरा गर्न निर्वाचित गरेका कम्युनिष्टहरु आफैलाई शाशक सम्झेर विगतका तानाशाहरुलाई पनि माथ खुवाउने गरि राष्ट्रघाती तवरले जनताहरु माथि निरंकुशता लादि शक्ति केन्द्रीकृत गरि फाँसीबादी क्रियाकलापमा लिप्त भएर लागेका छन् ।
हुनत, विश्वभर एक दल, एक सिद्धान्त र एक शाशकको निरङ्कुश दर्शन सिद्धान्तबाट दिक्षित कम्यूनिष्टहरु नेपालको सन्दर्भमा जनताको लोकतन्त्र प्रतिको अपार आस्थाको डरले भएपनि राजनीतिको लोकतान्त्रिक मुलधारमा आँफुलाई प्रवेश गराउनु आँफैमा एउटा सुखद पाटो हो । तर नेपाली जनतालाई दिग्भ्रमित तुल्याएर वर्तमान शाशक बनेका नेपालका कम्युनिष्ट शाशकहरुको वास्तविक निरङ्कुश अनुहार दिन प्रतिदिन जनता सामु उदाङ्गिने क्रम जारी रहेको छ । जसरी सर्पको बच्चालाई जतिसुकै दुध पिलाएपनि अन्त्यमा विष नै ओकल्छ त्यसै गरि वर्तमान कम्युनिष्ट सरकारले पनि दिन प्रतिदिन निरङ्शताको विष नै ओकल्दै छ । र जनतालाई झुक्याउन मुखमा स्थीरताको नारा जपिरहेता पनि व्यवहारमा निरंकुशताको अभ्यास गरिरहेको कुरा निम्न तथ्य तथा काण्डले पुष्टि हुन्छ ।

क) डा. गोविन्द केसी काण्ड :
सम्पूर्ण नेपाली जनताले सर्वसुलभ र प्रभाकारी चिकित्सा सेवा र नेपाली जनताका छोरा छोरीले न्यून शुल्कमा गुणस्तरिय चिकित्सा शिक्षा पाउनुपर्ने माग राखि पटक पटक आमरण अनसन (सत्यग्रह) बस्नु परेको थियो । तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. गोविन्द केसी अनसनरत रहँदा दुई तिहाइको दम्भले अन्धो भएको वर्तमान कम्यूनिष्ट सरकाले मेडिकल माफियाहरुको मार्सी चामलको भातमा लोभिएर गोविन्द केसीलाई बलात पक्राउ मात्र गरेन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा विद्यार्थीहरुको छातीमा बुट र टाउकोमा लाठी बजारेर नागरिकको मानव अधिकार माथि पनि ठाडो प्रहार गरेको थियो । जनस्तरबाट डा. गोविन्द केसीको पक्षमा अथाह जनसमर्थन हुँदा हुँदै पनि वर्तमान कम्यूनिष्ट सरकारले मेडिकल माफियाहरुको पक्षमा ऐन निर्माण गरेर आफ्नो जनविरोधि छवि प्रष्ट पारेका छ ।
ख) निर्मला पन्त हत्या काण्ड :
गएको वर्ष कञ्चनपुरमा १३ वार्षिय नावालिका निर्मला पन्तको बलात्कार पछि हत्या भयो । निर्मला पन्तको बलात्कारी र हत्यारालाई पक्राउ गर्नु त परको कुरा निर्मलालाई न्याय दिन दबाब दिँदै स्फुर्त रुपमा आन्दोलित भएका जनतामाथि वर्तमान कम्यूनिष्ट शाशकहरुले वर्वरताको हद पार गर्दै दमन गर्दा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु हुन पुग्यो भने कैँयौ घाइते भए । यसमा दोषीलाई उन्मुक्ति दिन न्याय माग्ने जनता माथी दमन गरेर यो सरकारले आफ्नो निरंकुश चरित्र नाङ्गो पारेको छ ।

ग) सैनिक परिचालन ऐन :
रक्षा सचिवालय मार्फत परिचालित हुने नेपाली सेनालाई वर्तमान सरकारले प्रधानमन्त्री एकल निर्णयले परिचालन गर्न सक्ने ऐन निर्माण गरेर वर्तमान प्रधानमन्त्रीले विगतमा राजाहरु नेपाली सेनाको परमाधिप्रति भएर शक्तिको परिचालन गर्ने परिपाटीलाई ब्यूँताएका छन् । सेना परिचालनको आफ्नै प्रक्रिया हुँदा हुँदै प्रधानमन्त्रीले सेना परिचालन आफ्नो एकल निर्णयबाट हुने बनाउँनु उनीमा भएको शाक्ति सञ्चयको अभिलाषा र त्यसको व्यवहारिक निरंकुशताको अभ्यासमा अहिलेका प्रधानमन्त्री तथा शाशकहरु आतुर भएको बुझिन्छ ।

घ) सञ्चार तथा छापाखाना ऐन :
प्रेस स्ततन्त्रता र वाक स्वतन्त्रता लोकतन्त्रका आधार स्तम्भ हुन । राज्यमा भएका हरेक घटनाको निष्पक्ष सूचना जनता सामु पु¥याउनु सञ्चार जगतको मुल धर्म हो । र राज्यको हरेक क्रियाकलापमा क्रिया–प्रतिक्रिया जनाउन पाउनु, आफ्नो मनमा लागेका कुरा स्वतन्त्र रुपमा अभिव्यक्त गर्न पाउनु नागरिकको अधिकार हो । तर वर्तमान कम्युनिष्ट शाशकहरुले नागरिकका हरेक मौलिक हकहरुलाई कुण्ठित गरि रहेको छ । हिजो शाहि शाशनकालमा जस्तो सञ्चार क्षेत्रलाई नियन्त्रित गर्ने, समाचारहरु सेन्सर गर्ने उद्देश्यले सञ्चार तथा छापाखाना ऐन निर्माण गरेको छ । यसले प्रेश स्वतन्त्रतालाई बन्देज लगाएको छ भने सामाजिक सञ्जालमा सरकार र प्रधानमन्त्रिको विरोध गरेको व्यक्तिहरुलाई जेल कोच्ने कार्य पनि यो कम्युनिष्ट शाशकहरुले गरेका छन् । यसले वर्तमान कम्युनिष्ट शाशकहरु आफ्ना स्तुति गान गर्ने भक्तहरुलाई जे गर्दा पनि छुट दिने र आफ्ना विरोधिहरुलाई स्टालिन शैलीमा तह लगाउने निरंकुशताको अभ्यासमा तल्लिन रहेको देखिन्छ ।

ङ) संविधान सभा पदक :

लोकतन्त्रमा निर्णायक शक्ति भनेका जनता हुन । राजनैतिक दलको कार्यको मुल्यांकन जनताले गर्दन् । तर पहिलेको राजा महाराजाहरुको स्थापना आँफुलाई राख्दै पुरानै राजा महाराजले आफुलाई खुस पर्दा विभिन्न मान पदवि, विर्ता बक्सिस दिएकै शैलीमा २०७६ सालको गणतन्त्र दिवसको अवसर पारेर २०६४ र २०७० सालका संविधान सभाका सदस्यहरुलाई संविधान सभा पदकले राष्ट्रपतिले सुसोभित गरिन् । कुनै औचित्य नभएको र मात्र आफ्नो रबाफ देखाउन वितरण गरिएको उक्त पदक वितरणले पनि वर्तमान कम्युनिष्ट शाशक तथा राष्ट्रपतिले आफुलाई राजा महाराजाकै श्रेणिमा राख्न खोजेको अभ्यास पुष्टि हुन्छ ।
च) विप्लव समुह प्रतिवन्ध :

लोकतन्त्रमा हरेक चिजको अस्तित्व र प्रतिस्र्धा हुनु पर्छ । राजनीतिकको क्षेत्रमा हरेक दलले प्रत्येक दलको अस्तित्व स्विकार गरेर एक आपसमा प्रतिस्पर्धा गर्नुपर्छ । तर आदिवासी कम्युनिष्ट दर्शन बोकेको वर्तमान शाशकले अर्को उग्रवामपन्थी भडकाव बोकेर हिसात्मक गतिविधिमा लागेको अर्को दल नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) लाई प्रतिवन्ध लगाएर नेपालको संविधानको अवमुल्यन मात्र गरेन देशलाई द्वन्दमा धकेलेर आँफुलाई शक्तिशाली र देशलाई कमजोर बनाउन अद्यत छ । संसारका कुनै पनि विद्रोहहरु दमनले हल हुँदैन राजनैतिक विकास दिनुपर्छ । तर यो कम्युनिष्ट सरकारले अरुको अस्तित्व सहन सक्दैन ।
छ) गुठी विधयेक :

अहिले वर्तमान शाशकहरुले धर्म, सँस्कृति पनि प्रहार गर्न थालेका छन् । देशमा रहेका विभिन्न जाति, समुदाय र धर्म सम्प्रदायका जिवन शैलीको अभिन्न अंगको रुपमा अविच्छिन्न उत्तराधिकारवाला स्वतन्त्र गुठिहरुलाई सरकारले नियन्त्रण गरेर समुदाय तथा जनतामा रहेको अधिकार आफुमा केन्द्रित गर्न खोज्दैछ । यस गुठी विधेयेकको विरुद्धमा देशै भरि जनता आन्दोलित हुँदा पनि यो कम्युनिष्ट सरकार आँखा चिम्लेर जनताको शक्तिलाई कम आक्दै छ । यसरी हरेक क्षेत्रको अधिकार केन्द्रिकृत गरेर निरंकुशताको अभ्यास गर्दैछ ।

यी घटनाहरु प्रतिनिधि घटना मात्र हुन । यो सरकार गठन भए देखिनै विभिन्न काण्डै काण्ड भएका छन् । वाइडबडी काण्ड, ३३ किलो सुन काण्ड, होली वाइन काण्ड, ललिता निवास काण्ड, जग्गा प्रकरण काण्ड यस्ता काण्डै काण्डले भरिएको यो सरकारले जनताको आक्रोशलाई नदेखे जस्तो गरेर निरंकुशताको अभ्यास गर्दैछ । यस्तै निरंकुश शैलीमा शाशन गरेको १०४ वर्षे जहाँनिया राणा शाशन नेपाली जनताको विद्रोहको बाढीमा बग्यो, पञ्चायत जनताको आक्रोशको हुण्डरीले उडायो र निरंकुश २५० वर्ष राजतन्त्र जनताको क्रोधको अग्नीले खरानि बनायो भने यो सरकारको के हालत होला ? यदि यस्तै निरंकुश शैलीले शाशन सत्ता सञ्चालन गर्ने हो भने नेपाली जनताको आक्रोशको पहाडले किचिएर दुई तिहाइको दम्भ र यो सरकार चकनाचुर हुने दिन अव धेरै टाढा छैन । चेतना भया ।

लेखक : तेजिन्द्र घिमिरे नेपाल विद्यार्थी संघ खोटाङका सचिव हुन् ।

प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology