बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

रकम झ्वाम बनाउँने मेसोले काम गर्दा माटीकोरे खेलमैदानको पर्खाल सात महिनामै भत्कियो

  • प्रभाब न्युज
  • खेलकुद
  • प्रकाशित मिति : बिहिबार, साउन १६, २०७६


रकम झ्वाम बनाउँने मेसोले काम गर्दा माटीकोरे खेलमैदानको पर्खाल सात महिनामै भत्कियो

प्रभाव न्यूज डटकम, खोटाङ – खोटाङको दिक्तेलस्थित माटिकोरे खेल मैदानको भित्तामा निर्माण गरिएको पर्खाल निर्माण गरिएको ७ महिनामै भत्किएको छ । खेलमैदान तथा सरस्वती माविको भवनको सुरक्षाका लागि जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय ओखलढुंगाको २७ लाखभन्दा बढिको खर्चमा गत पुसमा निर्माण गरिएको पर्खाल वर्षाका कारण असार मसान्त ननाघ्दै भत्किएको हो ।

२०७५ साल पुस १९ गते पूरा गर्ने गरी शुभ एण्ड धुव्र कन्स्ट्रक्सनले २०७५ साल बैसाख ७ गते सो पर्खाल निर्माणका लागि सम्झौता गरेको थियो । निर्माण कम्पनीले समय अवधिमै पर्खाल निर्माण गरेर हस्तान्तरण गरेपनि गुणस्तरिय काम नहुँदा निर्माण गरिएको केही समयपछि नै पर्खाल ढलेको स्थानीय बताउँछन् ।

जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय खारेज भएपछि सो मातहत सञ्चालन भएका कार्यक्रम हाल जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयमार्फत सञ्चालन भइरहेको छ ।

खेलमैदानको भित्तामा पर्खाल ठड्याउनका लागि ३१ लाख २२ हजार ९८४ रुपैयाँ बजेट भए पनि शुभ एण्ड धुव्र कन्स्ट्रक्सनले २७ लाख १ हजार ५५८ रुपैयाँमा ठेक्का लिएको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय खोटाङका लेखा अधिकृत सुदीप ढकालले बताए । साविकको सदरमुकाम तथा सबैको नजर पर्ने ठाउँकै संरचना ढल्नुले कामको गुणस्तरका विषयमा प्रश्न उठेको छ ।

जिल्लाका अधिकांश खेलकुदका कार्यक्रम सञ्चालन हुँदै आएको खेलमैदानको पर्खाल ठडिएको केही समयपछि नै चर्किन थालेको थियो ।

निर्माण कम्पनीले कमसल सामग्री प्रयोग र गुणस्तरहिन काम गर्दा राज्यको रकम झ्वाम भएको स्थानीयको गुनासो छ । पर्खाल भत्किएर खेल मैदानमा थुप्रिएपछि खेलकुदका गतिविधि सञ्चालनमा समेत अजहज भएको छ । ढलेका पर्खाल पन्छाउन र पुःन ठड्याउन राज्यको उत्तिकै रकम खर्च हुने देखिएको छ । यस विषयमा ठेकेदार कम्पनीसंग कुरा गर्न पटक -पटक सम्पर्क गर्दा फोन उठेन ।

प्रकाशित मिति : बिहिबार, साउन १६, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology