बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

कैदीहरु आपसमा भिड्दा कम्तीमा ५७ जनाको मृत्यु



कैदीहरु आपसमा भिड्दा कम्तीमा ५७ जनाको मृत्यु

ब्राजिलको एक जेलमा दुई कैदी समूहबीच भएको भिडन्तमा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । केहीको अवस्था अझै गम्भीर भएकाले मृतक बढ्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।

ब्राजिलको पारा राज्यमा रहेको एक जेलमा एउटा ब्लकका कैदीको समूहले अर्को ब्लकका कैदीको समूहलाई आक्रमण गरेपछि भिडन्त भएको हो ।

सोमबार भएको उक्त भिडन्त पाँच घण्टासम्म चलेको थियो । जेलमा रहेका जेलरहरुलाई नियन्त्रणमा लिएर उनीहरुबीच आपसमा आक्रमण भएको थियो ।

स्थानिय मिडियाहरुलाई स्रोत बनाउँदै बीबीसीले लेखे अनुसार सुरुवातमा १६ जनाको टाउको काटिएको थियो । त्यसपछि जेलमा आगो लगाइएको थियो । आगलागीले निसास्सिएर बाँकीको मृत्यु भएको थियो ।

उक्त जेलमा २०० जनाको क्षमता रहे पनि ३०९ जना कैदी राखिएका थिए । ब्राजिल विश्वकै सबैभन्दा बढी जेलमा रहेका कैदीमा तेस्रो राष्ट्र पर्दछ ।

त्यहाँका जेलमा करिब ७ लाख कैदी छन् । ब्राजिलको जेलमा बेला बेलामा दंगा र भिडन्त भइरहन्छ ।

यसै वर्षको मे महिनामा मानाउस जेलमा दंगा हुँदा ४० जना मारिएका थिए । सन् २०१७ को जनवरीमा १३० जना कैदी मारिएका थिए ।

प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology