बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

बीपी स्मृति दिवस : गुट, उपगुटको स्वार्थमा बीपीको नीतिलाई भुल्दै खोटाङ कांग्रेस

  • प्रभाब न्युज
  • राजनीति
  • प्रकाशित मिति : सोमवार, साउन ६, २०७६


बीपी स्मृति दिवस : गुट, उपगुटको स्वार्थमा बीपीको नीतिलाई भुल्दै खोटाङ कांग्रेस

खोटाङ – नेपाली काँंग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति खोटाङले बीपी स्मृति भवन दिक्तेलमा कार्यक्रमको आयोजना गरि स्मृति दिवस मनाएको हो ।

कांग्रेसका पूर्व सभापति तथा महासमिति सदस्य विष्णुकुमार राईको प्रमुख आतिथ्यता तथा पार्टी सचिव ज्ञानेन्द्र जोशीको सभापतित्वमा कार्यक्रम भएको हो ।
कार्यक्रममा काङ्ग्रेसका नेता तथा भ्रातृ संघसंस्थाहरूका प्रमुख, प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बीपीको १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्म भएको थियो भने २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो ।

जीवनभर प्रजातन्त्रका लागि लडेका बीपी शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता थिए । उनी भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भई भारतीय नेताहरूसँगै जेल परेका थिए ।
नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्रा्ष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिन्थे ।
२०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बीपीले त्यसपछि भने सम्पूर्ण राजनीतिक दलको नेता बन्ने अवसर पाए ।

मेलमिलापको नीतिको चर्चा गैर काँग्रेसी नेताले पनि गर्छन् । तर, काँग्रेसभित्रै गुटको राजनीति भइरहँदा यो हाँस्यास्पदजस्तै लाग्छ ।

बीपी साहित्यमा पनि धुरन्धर मानिन्छन् । राजनीतिमा शालीन मानिने बीपी साहित्यमा भने अराजक थिए । उनका सुम्निमा, मोदी आइन, बाबु, आमा र छोरा, नरेन्द्र दाइ, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा अझै पनि चर्चाकै शिखरमा छन् ।

मेलमिलापको नीति

बीपीको मेलमिलापको नीतिको चर्चा सदैव रहिरहन्छ । भारतमा निर्वासित जीवन त्यागेर ज्यानको बाजी लगाएर बीपी नेपाल फर्किएपछि राजनीतिले नयाँ मोड लिएको थियो ।

उनले फर्कने बेलामा मेलमिलापको नीति लिएर फर्केका थिए । उनले राजादेखि दलहरु अटाउने किसिमको नीति लिएर फर्केपछि मात्र जनमत संग्रह सम्भव भयो । त्यसपछि दलहरु सक्रिय हुन पाए ।

बीपीको त्यो नीति २०४६ सालको बहुदलदेखि गणतन्त्र ल्याउने बेलासम्ममा उत्तिकै महत्व रहेको छ ।

बीपीको मेलमिलापको नीति सत्ताधारी र विपक्षी दलहरु समझदारीमा आउने बेलामा निकै चर्चामा आउँछ । नेपालका कम्युनिष्टहरु पनि बीपीलाई सम्झिरहन्छन् ।

काँग्रेसभित्रको हालत

वर्तमान अवस्थामा कांग्रेसको केन्द्रिय राजनीतिको त कुरै छोडौं, खोटाङ काँग्रेसले पनि बीपीको नीतिलाई अंगालेको पाइँदैन । गुट उपगुटका कारण पार्टी कमजोर बन्दै गएको अवस्थामा बीपीको नीति सान्दर्भिक भए पनि अहिले काँग्रेसी नेताहरुले यो नीतिलाई भुल्दै गएको सवैको गुनासो आउँछ ।

प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले खोटाङ पनि प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन् । संगठन बिस्तार किन नगरिएको ? गाउँ–गाउँमा गएर कार्यक्रम गरेको खै ? कार्यकर्ताको संरक्षण गर्नुपर्छ कि पर्दैन ? गुटगत स्वार्थले पार्टी कोमामा पुर्याउँने हो ? यी दिक्तेलमा भएको बीपी स्मृति दिवसको अवसरमा बोल्ने नेता कार्यकर्ताको प्रश्न र जिज्ञासा हुन ।

सत्तारुढ दल नेकपाले नै अहिलेसम्मकै कमजोर प्रतिपक्षीको आरोप कांग्रेसलाई लगाईरहँदा सम्म पनि सहेर बसेको कांग्रेस अव कहिले जाग्ने ? वा खोटाङमा पटक–पटक हारेर पनि फेरी हार्ने ? खोटाङ कांग्रेसभीत्र झाँगिएर बसेका समस्यालाई (बीपी स्मृति दिवस) आजकै दिनदेखि फेरि काँग्रेसभित्र मेलपिलापको नीति अपनाउने हो भने पुनः पहिलो दल बन्ने त निश्चित छ त्यसमा पनि खोटाङ कांग्रेसको विजयी सुनिश्चित छ ।

प्रकाशित मिति : सोमवार, साउन ६, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology