सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

साकेला सिली नाचेर उभौली पर्व बिदाई गरे किरात समुदायले



साकेला सिली नाचेर उभौली पर्व बिदाई गरे किरात समुदायले

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – किरात समुदायले साकेला सिली नाचेर उभौली पर्वको पर्वको विदाई गरेका छन् । बैशाख पूर्णीमा देखी सुरु हुने साकेला किरात समुदायले एक महिनासम्म मनाएर विदाई गरेका हुन् ।

पुर्वी खोटाङ सहित किरात समुदायको बसोबास रहेको ठाउँमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आई नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमी, पितृ र अन्नको पूजाआजा गरी किरात राई, लिम्बु, याक्खा र सुनुवार समुदायले भव्यरुपमा साकेला चाड मनाउँने गर्दछन् ।

माझ किरातले प्रसिद्ध खोटाङमा किरात राई यायोक्खाको आयोजनामा जेठ ४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ऐतिहासिक तथा धार्मिकस्थल मझुवागढीमा सामूहिक साकेला नाचेर सुरुवात भएको उभौली शनिबार यायोक्खा र किरात सेवा समाजको संयुक्त आयोजनामा दिक्तेलको माटिकोरे खेलमैदानमा किरात राई तथा अन्य समुदायका बालवालिका, बृद्धबृद्धा, युवायुवतीले सामूहिक रुपमा साकेला नाचेर विधिवत रुपमा उभौली समापन गरिएको किरात राई यायोक्खा खोटाङका उपाध्यक्ष सन्जय कुमार राईले बताए ।

साकेला चाडको अवशरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाई, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै विभिन्न सिलीमा साकेला नाच्ने प्रचलन छ ।

साकेला थानमा पितृभूमीको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरु गरिन्छ । साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णीमा र अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा दुई पटक महिना दिनसम्म मनाईन्छ ।

उभौली समापनको अवसरमा जिल्लाका विभिन्न स्थानका १२ समुहले साकेला प्रदर्शन गरेको किरात राई यायोक्खाका सचिव युगसन किरातले जानकारी दिए ।

साकेन्वा, साकेवा, साकेला लगायतका नामबाट चिनिने साकेलाको अवशरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको कृयाकलापलाई चित्रण गर्दै नाच्ने परम्परा रहि आएको छ ।

साकेलाको अवशरमा किरात राईको वसोवास रहेको गाउँघरमा गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै साकेला नाँच्ने, आफन्त, साथीभाई, नरनाता, छरछिमेकबीच पारिवारिक तथा ब्यक्ति–ब्यक्तिबीचमा उभौली चाडको शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।

साकेला पर्व र साकेला नाचको शुरुवातका बिषयमा बिभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको शुरुवातका बिषयमा किरात समुदायमा आ–आफ्नै तर्क र भनाइहरु छन् ।
यद्यपि, किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको शुरुवात गरेको किंवदन्तीमा सबै एक मत छन् ।

उभौली चाड समापनमा यायोक्खाका अध्यक्ष हात्तीराम राई, प्रदेशसभा सदस्य उषाकला राई, जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख गोमादेबी खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय, प्रहरी नायब उपरिक्षक बामदेव गौतम लगायतले सामूहिक साकेला नाचेका थिए ।

कार्यक्रममा सहभागी वक्ताहरुले मौलिक, संस्कार संस्कृती जर्गेनामा सबै एकजुट हुनुपर्ने बताए । उभौली चाड खोटाङसहित भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङ, काठ्माण्डौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा मनाईन्छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३२, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology