अवको शिक्षा प्रमाणपत्रको लागि नभई जीवन उपयोगी हुनुपर्छ : मन्त्री पोखरेल

महुरेगढी वहु–प्राविधिक शिक्षालयको उद्घाटनपछि संवोधन गर्दै मन्त्री पोखरेल । तस्विर : उत्तम चौलागाँई

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ –  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अवको शिक्षा जीवनको लागि शिक्षा हुनु पर्ने बताएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरिपालिका –१३ स्थित नुनथलामा स्थापना भएको महुरेगढी वहु–प्राविधिक शिक्षालयको उद्घाटनका क्रमका पोखरेलले अवको शिक्षा प्रमाणपत्रको लागि नभई जीवन उपयोगी शिक्षा हुनुपर्ने बताएका हुन् ।

संघीय सरकारले सात प्रदेशलाई वितरण गरेको एक–एक वटा प्राविधिक शिक्षालय अन्तरगतको प्रदेश नम्बर एकको प्राविधक शिक्षालय खोटाङ जिल्लामा रहने गरि २०७५ सालबाट पठनपाठन सुरु भएको थियो । शिक्षालय संचालनकैक्रममा मन्त्री पोखरेलले मंगलबारबाट औपचारीकरुपमा शिक्षालयको उद्घाटन गरेका हुन् ।

शिक्षालय उद्घाटनपछि संवोधन गर्दै मन्त्री पोखरेलले विद्यार्थीले सिकेको शिक्षाले संसारको जुनसुकै कुनामा गएर पनि काम गर्न सक्ने हैसियत बनाउँने खालको शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । उनले भने, ‘एउटा विद्यार्थीले १२ कक्षा उतिर्ण गर्दैगर्दा कम्तिमा एउटा सीप सिकेर व्यवहारमा लागु गर्न सक्ने बनोस् त्यहि सीपबाट उसको जिविका होस् ।’
मन्त्री पोखरेलले शिक्षालाई विकासमा जोड्नुपर्ने बताएका छन् । ‘शिक्षा भनेको पुर्वाधारभित्रको पनि पुर्वाधारभित्र पर्ने र बिग्रि हालेमा सपार्न गाह्रो हुने भएकाले शिक्षाको परम्परागत कुरा त्यागेर विकाससँग जोड्नु पहिलो शर्त भएकाले अब शिक्षालाई विकासमा जोड्नुपर्दछ ।’ उनले भने ।

पोखरेलले नेपालको शिक्षाको परिवर्तन कसैले गर्न सक्छ भने त्यो शिक्षकले मात्रै गर्न सक्ने बताइएका छन् । ‘हामीले स्थानीय सरकारलाई जिम्मा दियौं, अब सवै ठिकठाक हुन्छ भन्नुहुन्छ भने त्यो राजनीतिक नेतृत्वको प्रश्न हो, शिक्षाको परिवर्तनको नेतृत्व शिक्षकले लिनुपर्छ, शिक्षक वाहेक अर्को विकल्प छैन, शिक्षकले आफूलाई सक्षम बनाउनुपर्छ ।’

पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताएका छन् । कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेको विचार राख्दै उनले सिकाई केन्द्रित भएर विद्यालयमा काम गर्न शिक्षकलाई निर्देशनसमेत दिएका छन् । उनले अवको शिक्षा सीपयुक्त शिक्षा बनाईने बताएका छन् ।

पोखरेलले आफनो जन्मथलो खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयको ६७ औँ वार्षिकोत्सवको उद्घाटनसमेत गरेका छन् । खार्पामा जन्मिएका पोखरेलले परम्परागत शिक्षाले देशमा बेरोजगार मात्र उत्पादन गरेको दाबी गर्दै सरकारले पछिल्लो समय प्राविधिक शिक्षामा जोड दिएको बताएका छन् ।

यस प्रादेशिक शिक्षालयमा डिप्लोमा ईन फरेस्ट्री कार्यक्रम सञ्चालित छ । हाल प्राविधिक शिक्षालयमा विल्डिङ इलेक्ट्रिसियन, सामुदायिक वन सहजकर्ता, मसरुम प्रोड्युसर, बेमौसमी तरकारी खेती, मोटरसाइकल मेकानिक, मोबाईल मर्मतकर्ता, सामुदायिक पशु सहायकजस्ता छोटो अवधिका तालिमहरु संचालन हुंदै आईरहेका छन् । यस शिक्षालयमा प्रदेश एकका विभिन्न जिल्लाका विद्यार्थी सहभागी रहेका छन् ।