मुलुकको आमूल परिवर्तन गर्ने अभिभारा नेकपाका नेता तथा कार्यकर्ताको काँधमा : पूर्व प्रधानमन्त्री खनाल

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सिद्धान्त, इतिहास र परिस्थितिको गहन अध्ययन गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बिना अध्ययन र समय परिस्थितिलाई नबुझी अगाडि बढ्दा काममा प्रभावकारिता नहुने स्पष्ट पार्नुहुँदै पूर्व प्रधानमन्त्री खनालले पार्टीको सिद्धान्त, इतिहास र देशको वर्तमान परिस्थितिको गहन अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो ।

खोटाङको दिक्तेलमा शनिबार आयोजित नगर समितिको शफथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री खनालले मूलुकको आमूल परिवर्तन गर्ने अभिभारा नेकपाका नेता तथा कार्यकर्ताको काँधमा रहेको बताउनुभयो । “हामीले देशमा ठूलो उपलब्धी हासिल गरेका छौँ”, उहाँले भन्नुभयो, “प्राप्त उपलब्धीलाई संस्थागत गर्दै आमूल परिवर्तन गर्ने काममा लागू गर्नुपर्ने हुन्छ । यसका निम्ति पार्टीको सिद्धान्त, इतिहास र वर्तमान परिस्थितिको गहन अध्ययन गर्नुपर्छ ।”

करीब ४५ मिनेट लामो सम्बोधनका क्रममा पूर्व प्रधानमन्त्री खनालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुनियाँको ठूला पार्टीहरुमध्ये एक पार्टी भएको दाबी गर्नुभयो । “कम्युनिष्ट पार्टीको नेतृत्व बिना समाजवाद सम्भव छैन” दिक्तेलस्थित समिक्षालय हलमा आयोजित कार्यक्रमलाई गर्दै उहाँले भन्नुभयो, “केन्द्रदेखि स्थानीय तहसम्म पार्टीलाई चलायमान बनाउन आवश्यक छ । कार्यकर्ता पनि भिजनफुल हुनुपर्छ । दश वर्षमा देशलाई कहाँ पु-याउने हो अहिलेदेखि नै योजना बनाएर अगाडि बढ्नुपर्छ ।”

सफथ ग्रहण कार्यक्रममा सहभागी कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले हरेक तहमा गठन भएको पार्टी समितिले सरकारलाई मार्ग निर्देश गर्न सक्नुपर्ने बताउनुभयो । “हरेक तहले आफ्नो नीति तथा कार्यक्रम बनाएर अगाढि बढिसकेको छ”, उहाँले भन्नुभयो, “पुच्छरले टाउको हल्लायो भने ठीक हुँदैन । हरेक समितिले आफ्नो अधिकार क्षेत्रभित्रको सरकारलाई मार्ग निर्देश गर्नुसक्नुपर्छ ।”

पूर्व प्रधानमन्त्री खनालले आफ्नो क्षेत्र तथा देश आफैले निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । “हाम्रो नेपालको संविधान दुरगामी संविधान बनेको छ । संविधानले सभ्यता सिकाएको छ । जनतालाई माया गर्न सिकाएको छ । समाजवादको लक्ष्यतर्फ प्रस्थान गर्ने गन्तव्य समेत प्रस्ट पारेको छ”, उहाँले भन्नुभयो, “समाजवाद कसरी निर्माण गर्ने ? अन्तर्राष्ट्रिय अभ्यासहरुको पनि अध्ययन गर्नुपर्छ । नेपालको आफ्नै विशेषता छ । कसैको नक्कल गर्नुहुँदैन । कसैले दिएको सुत्रले आफ्नो देश बन्दैन । नयाँ बाटोबाट अगाडि बढ्नुपर्छ । तपाईहरुले आफ्नो अध्ययन आफै गर्नुहोस् । अनि मात्र आफूले के गर्ने हो त्यो गर्न सकिन्छ । त्यसले आफ्नो र देश दुबैको विकास गर्छ ।”

वरिष्ठ नेता खनालले पार्टी एकताको बाँकी काम अन्तिम चरणमा पुगेकाले सबै काम चाँडै सम्पन्न हुनेमा विश्वस्त पार्नुभयो । “अहिले निर्माण भएका समितिहरु भद्दा बनेको छ । यसमा मेरो टिप्पणी छ”, उहाँले भन्नुभयो, “भद्दा समितिले पार्टी विध्वंस हुन्छ । राष्ट्रिय महाधिवेशनपश्चात साइजमा आउने छौँ ।”

राजनीतिक कार्यक्रम तथा खोटाङ जिल्लास्थित पर्यटकीय क्षेत्रहरुको अवलोकन भ्रमणमा श्रीमती रवि चित्रकार सहित हिजो (शुक्रबार) खोटाङ आउनुभएका पूर्व प्रधानमन्त्री खनाल आजै काठमाडौँ फर्कनुभएको छ । गएराति दिक्तेलस्थित होटल शुभदिनमा बस्नुभएका पूर्व प्रधानमन्त्री खनालले हिजो हिन्दु, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल हलेसीको अवलोकन भ्रमण गर्नुभएको हो ।

आज शनिबार बिहान किरात ऐतिहासिकस्थल मझुवागढी तथा कालिका भगवती मन्दिरको अवलोकन भ्रमण गर्नुभएका पूर्व प्रधानमन्त्री खनालले आजै अपरान्ह नेकपाको हलेसी नगर समितिलाई समेत शफथ ग्रहण गराउनुभएको थियो । दश स्थानीय तह रहेको जिल्लाको सबै स्थानीय तहमा शनिबार नेकपाको शफथ ग्रहण भएको नेकपा खोटाङका कार्यालय सदस्य कुमार आचार्यले जानकारी दिनुभएको छ ।