कांग्रेस जागरण अभियान : र्‍यालीसहित आज दिक्तेल बजारको हेलीप्याडमा बृहत आमसभा हुदैँ

फाईल फोटो

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ –  नेपाली कांग्रेसको पहिलो चरणको जागरण अभियान आज समापन हुंदैछ । कांग्रेस सुधारका लागि केन्द्रदेखी गाउँ तहसम्म गरिएको जागरण अभियान आज र्‍याली, आमसभा तथा विभिन्न कार्यक्रम गरेर पहिलो चरणको अभियान समापन हुदैछ ।

खोटाङ क्षेत्र नम्बर (क) का हलेसी, बाक्सिला, कुभिण्डे (हरमटार) र ऐसेलुर्खकमा जागरण अभियान सकेको कांग्रेसले आज बिहान ११ बजेदेखी पहिलो चरणको अन्तिम जागरण अभियान सदरमुकाम दिक्तेलबजारको स्थानीय हेलीप्याडमा बृहत आमसभा गरेर समपान गर्ने खोटाङ कांग्रेसका सचिव ज्ञानेन्द्र जोशीले बताए । आमसभा अघि दिक्तेलबजारमा र्‍याली निकालिने छ ।

जागरण अभियानलाई कांग्रेसका युवा नेता तथा अभियानका लागि केन्द्रीय प्रतिनिधि उदय शम्सेर राणाले सम्बोधन गर्दैछन् । आमसभामा सयौं नेता तथा कार्यकर्ता दिक्तेलबजारमा उतार्ने खोटाङ कांग्रेसले जनाएको छ ।

जिल्लाको चार स्थानमा जागरण अभियानमा एक सयभन्दा बढी अन्य पार्टीका नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । आजको आमसभामा पनि पार्टी प्रवेश गराउने कार्यक्रम रहेको बताईएको छ ।

जागरण अभियानले कांग्रेसलाई आगामी दिनमा कता लाने भन्ने निर्धारण गर्ने कांग्रेस नेताहरुले बताएका छन् । आगामी भदौ २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको जागरण कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।