खोटाङको पन्चमी बजारको आगलागी अझै नियन्त्रण बाहिर, दुई घर सकेर अन्य घरमा पस्यो लप्को

फाईल तस्विर

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको पञ्चमीबजारमा आगलागी सुरु भएको छ । बुधबार करिब ८ बजे रातीबाट सुरु भएको आगोले पञ्चमीबजारका डम्बर खड्काको घर पूर्णरुपमा जलिसकेको छ । खड्काको घरबाट सुरु भएको आगोले स्थानीय कुमार श्रेष्ठको घर पनि जलिरहेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
आगोले प्रमिला श्रेष्ठको घर पनि जोखिममा परेको छ । घरको पर्खाल भत्काएर आगो फैलिन नदिने प्रयास भइरहेको छ । बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रणका लागि प्रहरीचौकी छितापोखरीबाट प्रहरी घट्नास्थल खटिएका छन् । क्षतीको विस्तृत बिवरण आउन बाँकी छ ।
आगलागीको कारण खुल्न सकेको छैन । विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।